गुल्मीको उनायचाैर सवस्टेशन अनुगमनमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, १३२ केभीको प्रसारण लाइन नियमित सुचारु



Live Gulmi


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-७ उनायचौरस्थित सबस्टेशनबाट १३२ केभी क्षमताको प्रसारण लाइन नियमित रूपमा सुचारु भएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उनायचौर सबस्टेशनको स्थलगत अनुगमन गर्दै यो प्रसारण लाइनलाई नियमित सञ्चालनमा ल्याउनुभएको हो।

यो प्रसारण लाइन कपिलवस्तुको गोरुसिङ्गेबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै गुल्मीको उनायचौर र त्यहाँबाट पौंदीअमराई भएर बागलुङको बुर्तिबाङसम्म पुगेको छ, जसमा उनायचौर र पौंदीअमराई गुल्मी जिल्लामा पर्दछन्। गुल्मीको तम्घासदेखि बागलुङको बुर्तिबाङसम्मको विद्युत् प्रसारण लाइनको सफल परीक्षण भएपछि अहिले यसलाई नियमित प्रवाहमा ल्याइएको हो।

​नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको यो १३२ केभी डबल सर्किट प्रसारण लाइन हो, जसमा गुल्मीको रेसुङ्गा नगरपालिका-७ उनायचौरस्थित सबस्टेशनदेखि बागलुङको ढोरपाटन नगरपालिका-२ खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेशनसम्म १३२ हजार भोल्ट क्षमताको विद्युत् प्रवाह भइरहेको छ। करिब चार अर्ब रुपैयाँको लागतमा सम्पन्न यो योजनाले गुल्मीसहित मध्यपहाडी जिल्लाहरूको विद्युत् आपूर्तिमा ठुलो राहत पुर्‍याएको छ।

यो प्रसारण लाइन सुचारु भएसँगै यस क्षेत्रका घरेलु उपभोक्ताले गुणस्तरीय विद्युत् पाउनेछन् भने ठुला उद्योग कलकारखाना सञ्चालनका लागि समेत ठुलो सहयोग पुग्नेछ। अनुगमनका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो आयोजनाले यस क्षेत्रको विद्युत् समस्या समाधान गर्नुका साथै औद्योगिक विकासमा समेत कोसेढुङ्गा सावित हुने बताउनुभयो।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया