काठमाडौं । स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल (होडान) को प्रथम साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ। सभाले मदन कुमार पूर्वेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।
नयाँ समितिको उपाध्यक्षमा रामहरी थापा, महासचिवमा रघुनाथ पनेरू र कोषाध्यक्षमा पुजा चौधरी चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा खिमराज अधिकारी, अञ्जली रोक्का, लक्ष्मी नारायण उपाध्याय, राजेन्द्र चौधरी र कृष्ण अधिकारी रहेका छन्।
साधारण सभालाई सम्बोधन गर्दै संस्थाका सल्लाहकार शमशेर नेपालीले होडानले स्थापनाको ६ महिनामै उल्लेख्य काम गरेको बताउनुभयो। राज्य र सरोकारवाला निकायले होडानको भूमिकालाई बुझेकोमा आफूलाई गौरव महसुस भएको उहाँको भनाइ थियो। अर्का वक्ता सोमराज लिम्बूले राज्यले सबै व्यवसायीलाई समान रूपले व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो।
मदन कुमार पूर्वेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा रामहरी थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रघुनाथ पनेरूले गर्नुभएको थियो।









