गुल्मीमा रक्तदान सम्बन्धी जनचेतनामूलक अभिमुखीकरण 



Live Gulmi


गुल्मी । २० औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता  दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला शाखाको आयोजनामा सिद्धबावा माध्यमिक विद्यालयमा रक्तदान अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा गुल्मी जिल्ला अस्पतालमा कार्यरत डा. अर्जुन के.सी.ले रगत तथा तत्व रक्तदानको महत्त्व, आवश्यकता र फाइदाबारे जानकारी गराउनुभएको थियो।

उहाँले नियमित रक्तदान गर्दा स्वास्थ्यमा कुनै नकारात्मक असर नपर्ने, बरु शरीरमा नयाँ रगत बन्न सहयोग पुग्ने स्पष्ट पार्नुभयो। साथै उहाँले युवाहरूले नडराई रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य ध्रुब पाण्डेले आफ्नो मन्तव्यमा भन्नुभयो, “मैले स्वयं १७ पटक रक्तदान गरिसकेको छु र आजसम्म मेरो स्वास्थ्यमा कुनै समस्या आएको छैन। त्यसैले सबैलाई निर्धक्क भएर रक्तदान गर्न आग्रह गर्दछु। गुल्मी जिल्लामा रगतको अभाव हुन नदिन हाम्रो संस्था निरन्तर सक्रिय छ।” उहाँले विद्यालय तहबाटै रक्तदानसम्बन्धी चेतना फैलिनु दीर्घकालीन समाधानको आधार हुने उल्लेख गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा आजीवन सदस्य एवम् आपतकालीन रगत व्यवस्थापन सदस्य रामकृष्ण पौडेलले मन्तव्य दिँदै भन्नुभयो, “मैले पनि १५ पटक रक्तदान गरिसकेको छु। रक्तदान गर्दा स्वास्थ्यमा कुनै हानि हुँदैन, उल्टै मानसिक सन्तुष्टि प्राप्त हुन्छ। आपतकालीन अवस्थामा समयमै रगत उपलब्ध गराउन स्वयंसेवी रक्तदाताको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।”
उहाँले समाजका सबै वर्ग, विशेष गरी युवाहरूलाई रक्तदान अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो। कार्यक्रमको सञ्चालन नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला सचिव वीरबहादुर कार्कीले गर्नुभएको थियो।

कार्यक्रममा कार्यसमिति सदस्य निर्मला पोखरेल, विद्यालयका सहायक प्रधानाध्यापक युवराज अर्याललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी १०० भन्दा बढी विद्यार्थीहरूले रक्तदान तथा तत्व रक्तदानसम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेका थिए।
कार्यक्रमले विद्यार्थीहरूमा मानवता, सामाजिक उत्तरदायित्व र स्वयंसेवाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको धारणा रहेको छ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया