गुल्मीमा रक्तदान कार्यक्रमबाट ४५ पिन्ट रगत संकलन



Live Gulmi


गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-३ बडागाउँस्थित पृथ्वी माध्यमिक विद्यालयको खेल मैदानमा सरस्वती पूजाको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा कुल ४५ पिन्ट रगत संकलन गरिएको छ ।

कार्यक्रममा स्थानीय युवाहरू, शिक्षक, अभिभावक, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। जिल्लामा बेला-बेला देखिने रगतको अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले स्वेच्छिक रूपमा रगत दान गरेका थिए । कार्यक्रम सुमेन्द्र सिंह ठकुरीको संयोजकत्व तथा सावित्रा बिष्ट घिमिरेको सह–संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रम आयोजना गर्न पृथ्वी माध्यमिक विद्यालय, नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी शाखा तथा रुपन्देही बडागाउँ देशी भैली समूह लगायत विभिन्न सामाजिक संघ–संस्थाको सक्रिय सहकार्य रहेको थियो ।

कार्यक्रमबारे जानकारी दिँदै नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्लाका अध्यक्ष तथा केन्द्रीय सदस्य ध्रुव पाण्डेले जिल्लामा रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले निरन्तर रक्तदान अभियान सञ्चालन हुँदै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “यस्तै मानवीय उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा ४५ पिन्ट रगत संकलन हुनु सुखद र सकारात्मक उपलब्धि हो। आगामी दिनमा पनि यस्ता अभियानलाई अझ व्यापक बनाइनेछ।”

कार्यक्रममा संकलित रगत जिल्लाभित्र तथा बाहिर उपचाररत बिरामीहरूको जीवन रक्षाका लागि प्रयोग गरिने आयोजकले जानकारी दिएका छन्। रक्तदान कार्यक्रममा प्राविधिक सहयोग प्रदान गर्ने स्वास्थ्यकर्मी, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजक समितिले धन्यवाद व्यक्त गरेको छ।

( Jeevan rajan

यस्ता सामाजिक तथा मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने र युवाहरूलाई समाजसेवातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै आयोजकले आगामी दिनमा पनि नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया