चिदिचाैर खेलमैदान अलपत्र पार्ने निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याउन नगरपालिकाको ध्यानाकर्षण



Live Gulmi


गुल्मी । चिदिचाैर खेलमैदान अलपत्र पार्ने निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याउन नगरपालिकाले ध्यानाकर्षण गराएको छ । रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका हुन् ।

निर्माण व्यवसायी रामेछाप कन्ट्रक्सन काठमाडौंका संचालक लीलाबहादुर बस्नेत काठमाडौंबासी भएको र कम्पनी दर्ता समेत त्यहीँ रहेकोले काठमाडौं पुगेर ध्यानाकर्षण गराइएको हो । रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वरराज पाैडेलसँग गहन छलफल भएको बताएका छन् । प्रमुख जिल्ला अधिकारीले मातहतका निकायलाई निर्देशन दिइसकेका छन् ।

गत वैशाख अन्तिम साता निर्माण कार्य सुरुवात गरिए पनि माटो निकालेर यत्तिकै छाडेपछि चिदिचौर खेलमैदान बेहाल बनेको छ । रेसुंगा नगरपालिकाले चिदिचौर खेलमैदानलाई दूबो रोपेर व्यवस्थित बनाउनका लागि बहुवर्षिय ठेक्काका रूपमा लुम्बिनी प्रदेशबाट बजेट सुनिश्चित गरेको थियो । खेलमैदानकै बीचमा पानीको मूल फुट्ने समस्याका कारण उक्त पानीलाई जमिन तल नै व्यवस्थित गर्ने र त्यसपछि मलिलो माटोले समथर बनाएपछि दूबो रोप्ने योजना हालको ठेक्कामा छ । अहिले चिदिचौर सौन्दर्यीकरण गर्न ठेक्का त छ तर ठेकेदार भने छैनन् । लापत्ता भएका छन् ।

लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत चिदिचौर खेलमैदान व्यवस्थित गर्नका लागि १ करोड रुपैयाँ लागतमा गत वैशाख अन्तिम साता रामेछाप कन्ट्रक्सन काठमाडौंले निर्माणको जिम्मा पाएको थियो । २०८३ असारसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद रहेको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका इन्जिनियर अञ्जली थापाले बताइन् ।

( Jeevan rajan

तम्घासको मुटु मानिने चिदिचौर खेलमैदान बहुवर्षीय ठेक्का वा म्याद भएकै कारण निर्माण कार्य रोक्न नहुने र तत्काल काम सुरु गर्न पटक–पटक पहल भइरहेको नगर प्रमुख खिलध्वज पन्थीले बताए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया