चन्द्रकोट गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, प्रमुख समस्यामाथि प्रत्यक्ष छलफल



Live Gulmi


गुल्मीचन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को अन्तिम चौमासिक तथा समग्र प्रगति समेटिएको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा र डि.जे.सि. मिडिया प्रा.लि.को सहजीकरणमा सम्पन्न कार्यक्रमका सहजीकरण पत्रकार भुवन भुसालले गरेका थिए।

कार्यक्रममा प्रमुख जवाफदेही वक्ताका रूपमा गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुखलगायत जनप्रतिनिधि तथा कर्मचारीहरू सहभागी थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले चालु आर्थिक वर्षमा सञ्चालन भएका सम्पूर्ण गतिविधिको विवरण प्रस्तुत गरे। सार्वजनिक सुनुवाइमा एक सयभन्दा बढी स्थानीयको उपस्थिति थियो भने २० जनाभन्दा बढीले प्रश्न, गुनासा, जिज्ञासा र सुझाव राखेका थिए।

स्थानीय कमल खत्रीले विद्युत् व्यवस्थापन, बजार क्षेत्रको तार व्यवस्थापन, रोजगारीको अवसरको अभाव, सहरको सौन्दर्यीकरणमा कमजोरी र अनुगमन प्रभावकारी नभएको गुनासो गरे। कृष्णबहादुर थापाले सडक मर्मतमा ढिलासुस्ती, अपाङ्गता भएका नागरिकप्रति असंवेदनशीलता र सूचना प्रवाहमा कमजोरी औंल्याए।

( Jeevan rajan

मनिराम रम्तेलले दलित समुदायका विषयमा प्रतिनिधित्वको कमजोरी, छुवाछुतको निरन्तरता, उत्थानका कार्यक्रमको अभावलगायत प्रश्न उठाए। मेघबहादुर नेपालीले स्वास्थ्य सेवाको अवस्था, एम्बुलेन्सको अभाव, विज्ञ डाक्टरको कमी, कृषि अनुदानमा पहुँचको आधार र विकासमा दिगोपनको कमीबारे प्रश्न गरे।

उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले अपाङ्गता क्षेत्रको सुधार, अनुगमन प्रभावकारी ढंगले अघि बढाइएको तथा न्यायिक समितिबाट समस्या समाधानमा सक्रियता रहेको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष युवराज केसीले उठाइएका सबै प्रश्नको जवाफ दिंदै स्वास्थ्य सेवामा एम्बुलेन्स सञ्चालनको तयारी भइरहेको बताए। विद्युत् व्यवस्थापन सामुदायिक संस्थामार्फत वा कार्यपालिकामार्फत गर्ने, किसानलाई उत्पादनमा आधारित अनुदान अझ वृद्धि गर्ने, वर्षायाममा सडक मर्मतको लागि डोजर तयारी अवस्थामा राख्ने र समग्र विकासमा निरन्तर लागिरहेको प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा पत्रकार सुमन महतारा, महेश बोहरा, सन्तोष महतारा, डिबी खड्का र भुवन भुसाल सहभागी थिए। साथै गाउँपालिकाका सबै वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष र अध्यक्ष लगायत जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी र स्थानीयकाे उपस्थिति थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया