गुल्मी । संघीय शिक्षा ऐनको माग गर्दै जारी रहेको शिक्षक आन्दोलनप्रति गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ८ स्थित थानपती आधारभूत विद्यालय व्यवस्थापन समितिले पूर्ण ऐक्यबद्धता जनाउँदै आन्दोलनप्रति समर्थन जनाएको छ । समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई शिक्षकका न्यायसंगत मागहरू तत्काल सम्बोधन गर्न अनुरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरू राष्ट्र निर्माणका मेरुदण्ड हुन् । उनीहरूको न्यूनतम, व्यवहारिक र न्यायोचित मागहरूलाई बेवास्ता गर्नु दुर्भाग्यपूर्ण छ । आन्दोलनप्रति उदासीन रहनु सार्वजनिक शिक्षामाथि आक्रमण हो ।’
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा बहादुर खड्का (डिबी) द्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै भनिएको छ, ‘शिक्षकहरू केवल आफ्नो हकको लागि होइन, देशको भविष्य, बालबालिका र शिक्षाको संरक्षणका लागि लडिरहेका छन् । शिक्षकहरूको आवाज दबाउने जुनसुकै प्रयास शिक्षा, लोकतन्त्र र सामाजिक न्यायमाथि खुला हमला हो।’
समितिले सरकारलाई संवाद र समाधानको बाटो रोज्न आग्रह गर्दै भनेको छ, ‘यदि शिक्षकका मागहरू शीघ्र सम्बोधन गरिएन भने आन्दोलन थप सशक्त बन्नेछ ।’
हाल देशभरका शिक्षकहरू संघीय शिक्षा ऐनका मागसहित आन्दोलनरत छन् । सरकार र आन्दोलनरत शिक्षकबीच हालसम्म कुनै ठोस सहमति जुट्न सकेको छैन् ।
विज्ञप्ति