गुल्मी । प्रजातन्त्र पुनर्स्थापनाको अवसर पारेर नेपाली काँग्रेस गुल्मीले तेस्रो जिल्ला सम्मेलन गर्दैछ । मंगलबार सदरमुकाम तम्घासस्थित चिदिचौरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा खुला सक्रको कार्यत्रम हुने र सम्मेलनको पूर्ण तयारी भएको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले सम्मेलनको तयारी भएको र विभिन्न उपसमितिमार्फत काम भइरहेकोले सम्मेलन भव्य बन्ने बताए । ‘हामीले प्रजातन्त्र पुनार्स्थापनाको अवसरमा सम्मेलन गर्दछौँ,’ उनले भने, ‘सम्मेलन हाम्रो गत कार्तिकमै निर्धारित कार्यक्रम हो ।’ सम्मेलनमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, चन्द्र केसी, उर्मिला थपलिया र लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले सम्बोधन गर्नेभएका छन् ।
२०४६ चैत २६ गते नेपालमा पञ्चायतको अन्त्य भई प्रजातन्त्र पुनर्स्थापना भएको थियो । सोही दिनको अवसर पारेर मुलुकमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको सन्देशसहित तेस्रो जिल्ला सम्मेलन गर्न लागिएको गुल्मी काँग्रेसले जनाएको छ । मंगलबार खुला सक्रको कार्यत्रम र बुधबार बन्द सक्रको कार्यत्रम हुने नेपाली काँग्रेस गुल्मीका सचिव भगत सिंह खड्काले बताए ।
गुल्मी काँग्रेसले तेस्रो जिल्ला सम्मेलनको लोगो पनि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गर्दै काँग्रेस गुल्मीले ‘एकता, विकास र समर्पण : समुन्नत गुल्मीका लागि काँग्रेसको प्रण’ भन्ने आफ्नो मूल नारा भएको जनाएको छ । मंगलबार हुने तेस्रो जिल्ला सम्मेलनमा १० हजार बढी शुभेच्छुक सहभागी हुने नेपाली काँग्रेस गुल्मीको दाबी छ ।