रामकृष्ण कँडेल, गुल्मी । ईश्वरी माध्यमिक विद्यालय गुल्मीदरबार–६, चारपाला, गुल्मीमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रमको लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री माननीय धनेन्द्र कार्कीले शुक्रवार उद्घाटन गर्नुभएको भएको छ । सामाजिक बिकास मन्त्रालयको आयोजनामा आफूले अध्ययन गरेको विद्यालयप्रति दायित्व बोध गराउने उद्देश्यले लुम्बिनी प्रदेशका १७ वटा बिध्यालयमा एकैसाथ यो कार्यक्रम सुरुवात गरिएको र आफुले पढेको बिध्यालयबाट कार्यक्रम सुरुवात गरिएपनी आगामी आर्थिक बर्षमा अन्य बिध्यालयमा पनि यो कार्यक्रम बिस्तार गरिने मन्त्री कार्कीले बताउनु भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले विद्यालय स्थापनाकालदेखि यस विद्यालयमा अध्ययन गरी विभिन्न क्षेत्र, स्वदेश तथा विदेशमा रहनुभएका भूतपूर्व विद्यार्थीहरुलाई आफूले अध्ययन गरेको विद्यालयप्रति माया र अपनत्वको भाव जगाई दायित्व बोध गर्दै सबैलाई यो महान कार्यमा जोडिन आग्रह गर्दै आफू पनि यसै विद्यालयको पूर्व विद्यार्थी रहेको कुराको जानकारी सहित आफ्ना स्वर्गीय पिताको स्मृतिमा एक लाख एकाउन्न हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकम गरिब तथा जेहन्दार बिध्यार्थीलाई प्रदान गरिने बताउनु भएको छ ।
त्यस्तै गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले कार्यक्रमको सफलताको शुभकामना दिँदै आफू पनि यश बिध्यालयको भुतपुर्व बिध्यार्थी र भुतपुर्व शिक्षक रहेको बताउदै आफ्नो बुवा स्व. अशोक कुमार थापाको स्मृतिमा एकाउन्न हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको थियो । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय, सामाजिक डिभिजन कार्यालय पाल्पाको मुख्य आयोजना र श्री ईश्वरी माध्यमिक विद्यालयको सह–आयोजनामा विद्यालयका भूतपूर्व विद्यार्थीहरुलाई एकिकृत गरी आफूले अध्ययन गरेको विद्यालयप्रति दायित्व बोध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बिशिस्ट अतिथि बिष्णु भुसालले बताउनु भएको थियो ।
कार्यक्रम माथी प्रकाश पार्दै लुम्बिनी प्रदेशको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष यसै विद्यालयबाट कार्यक्रमको सुरुवात गरी चरणबद्ध रुपमा विभिन्न विद्यालयमा कार्यक्रम गरिने कुरा पनि भुषालले बताउनु भएको थियो ।त्यस्तै विशिष्ट अतिथि गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा,गुल्मीदरबार गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्याल, गुल्मीदरबार गाउँपालिका प्रवक्ता तथा वडा नं.७ का अध्यक्ष शालिकराम टण्डन, गुल्मीदरबार सामाजिक विकास समिति संयोजक तथा वडा नं. ६ का अध्यक्ष मुकेश थापा, गुल्मी समाज यु.के.का अध्यक्ष तथा पुर्व बिध्यार्थी रुद्र बहादुर बुचा , भूतपूर्व विद्यार्थी इन्द्र बहादुर थापा , चारपाला रुपन्देही सम्पर्क समाजका सचीव बिकाश टन्डन लगायतले आफूहरु पूर्व विद्यार्थी रहेको र विद्यालयको हितका लागि आफूहरु जस्तोसुकै सहयोग गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष तथा कार्यक्रमका संयोजक हरि प्रसाद अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशेष अतिथि गुल्मी यु.के समाजका अध्यक्ष रुद्र बहादुर बुचाले कार्यक्रमको सफताको शुभकामना दिदै आफू पनि यसै बिध्यालयको भुतपुर्व बिध्यार्थी रहेको स्मरण गराउदै एक लाख एघार हजार एकार सय एकार बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि बहादुर कार्कीले समग्र विद्यालयको वस्तु स्थितिको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा हरि प्रसाद अर्यालको अध्यक्षतामा भूतपूर्व विद्यार्थी समाज पुनर्गठन गरिएको छ जसको उपाध्यक्षमा नारायण प्रसाद अर्याल र रुद्र बहादुर बुचा रहनुभएको छ । तेस्तै सचिव टोप बहादुर थापा सह–सचिव गणेश शाही र सुनिल बस्नेत कोषाध्यक्ष तारा खत्री , सदस्यहरुमा राजकुमार श्रेष्ठ र उमा टण्डन सर्वसम्मत चयन गर्दै हाललाई ९ सदस्यीय समिति गठन भएको र सो समिति देश तथा विदेशमा व्यापक रुपमा विस्तार गरिदै जाने बताइएको छ ।
उक्त कार्यक्रममा गुल्मीदरबार गाउँ कार्यपालिका सदस्यहरु, गुल्मीदरबार गाउँपालिका वडा नं. ५, ६ र ७ का जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका अध्यक्ष लगायत पदाधिकारीहरु, विभिन्न स्वास्थ्य केन्द्र प्रमुखहरु, विभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधिहरु, आमा समूहका अध्यक्षहरु, वडा कार्यालयका कर्मचारीहरु, अभिभावकहरु, विद्यालयमा कार्यरत शिक्षकहरु तथा भूतपूर्व विद्यार्थीहरुको आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर खत्रीको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन विद्यालयकी सहायक प्रधानाध्यापक हिमकला रानाले गर्नुभएको थियो ।