गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५, वस्तुस्थित ‘न्यु स्टार्स बाल क्लब’ले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा भएको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। “खेलकुदले बनाउँछ मित्रता” भन्ने मुख्य उद्देश्यका साथ क्लबले आगामी वैशाखमा खुल्ला यू-१८ भलिबल प्रतियोगितासहितको उत्सव मनाउन लागेको हो।
हिमालय माध्यमिक विद्यालयको भलिबल कोर्ट, कालिकास्थानमा वैशाख २, ३ र ४ गते सञ्चालन हुने यस प्रतियोगितामा १८ वर्षभन्दा कम उमेरका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताको विजेताले नगद १० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, द्वितीय र तृतीय हुने समूहले क्रमशः ८ हजार र ६ हजार रुपैयाँका साथमा कप, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। उत्कृष्ट र अनुशासित खेलाडीलाई पनि छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ।
भलिबलसँगै छात्रतर्फ यू-१८ डोरी तान र छात्रातर्फ कुर्सी दौड प्रतियोगिता पनि आयोजना गरिने भएको छ। साथै, स्थानीय बाल प्रतिभा प्रस्फुटनका लागि सांस्कृतिक नृत्य तथा गायन प्रस्तुतिहरू समेत रहने क्लबका अध्यक्ष प्रयास सुनारले जानकारी दिए।
प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि १८०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने खेलाडीले उमेर खुल्ने जन्मदर्ताको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने नियम बनाइएको छ। क्लबका सचिव साहित्य कौशल, कोषाध्यक्ष शिव सुनार र संयोजक राजकुमार नेपालीले यस क्षेत्रका सम्पूर्ण खेलप्रेमी तथा दर्शकहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन आह्वान गरेका छन्।









