गुल्मी । गुल्मीमा विश्वकै दुर्लभ ‘भिक्टोरिया क्रस’ पदक प्राप्त कर्नबहादुर रानामगरको शालिक अनावरण गरिएको छ। ब्रिटिश सेनाको सबैभन्दा उच्च वीरता पदक सबैभन्दा कम उमेरमा पाउने रानामगरको शालिक बुधबार सत्यवती गाउँपालिका-८ भार्सेस्थित फोटो ग्यालरी प्राङ्गणमा अनावरण गरिएको हो। भारतीय सेनाका भूतपूर्व कर्नेल एसएस सिंहले उक्त शालिकको अनावरण गर्नुभएको हो।
कालीगण्डकी गाउँपालिका-५ फोक्सिङमा सन् १८९८ मा जन्मनुभएका रानामगरले सन् १९१८ मा प्यालेस्टाइनमा भएको युद्धमा प्रदर्शन गरेको असाधारण साहसका लागि १९ वर्षकै उमेरमा भिक्टोरिया क्रस पदक पाउनुभएको थियो। उहाँले सन् १९१९ मा बकिङ्घम प्यालेसमा राजा जर्ज पाँचौँको हातबाट उक्त दुर्लभ पदक प्राप्त गर्नुभएको थियो। हालसम्म १३ जना नेपालीले मात्र यो पदक पाएका छन्।
भार्से भूपू संघको अगुवाइमा स्थापित उक्त शालिक मूर्तिकार यमबहादुर थापाले १५ लाख ५० हजार रुपैयाँ लागतमा तयार पार्नुभएको हो। तीन सय किलो पित्तल प्रयोग गरिएको शालिक निर्माणको लागि ब्रिटिश सेनाका भूतपूर्व लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले आर्थिक व्यवस्थापन र नेतृत्व गर्नुभएको थियो। कर्नबहादुरको निधन २५ जुलाई १९७३ मा ७४ वर्षको उमेरमा गुल्मीको भार्सेमा भएको थियो।








