गुल्मी । मानसिक स्वास्थ्य, बालविवाह र क्षयरोगबारे विद्यार्थीलाई सचेतना प्रदान गरिएको छ । विद्यालय तहबाट नै स्वास्थ्य सचेतनाको विकास दीर्घकालीन सामाजिक रूपान्तरणको आधार हुने उद्देश्यसहित गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-६ स्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम सम्पन्न भएको हो ।
पोखरा विश्वविद्यालयका छैठौँ सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा मानसिक स्वास्थ्य, बालविवाह तथा क्षयरोग (टीबी) जस्ता गम्भीर र संवेदनशील विषयमा केन्द्रित रही सचेतनामूलक जानकारी प्रदान गरिएको थियो। कार्यक्रमले विद्यार्थी मात्र होइन, विद्यालय समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, बालबालिकाको भावनात्मक विकास, बालविवाहका सामाजिक तथा स्वास्थ्यसम्बन्धी दुष्परिणाम, साथै क्षयरोगको कारण, लक्षण, रोकथाम र उपचारबारे सरल र प्रभावकारी ढङ्गले जानकारी गराइएको थियो। विशेषगरी किशोर–किशोरी लक्षित सामग्री प्रस्तुत गरिँदा सहभागी विद्यार्थीहरू सही निर्णय लिन र गलत सामाजिक अभ्यासबाट टाढा रहन प्रेरित भएको विद्यालयले जनाएको छ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका विद्यार्थीहरू बिमर्श पाण्डे, दीर्घ बुढा, प्रियङ्का कुशवाहा, रोशनी चौधरी, रोशनी गुरुङ, समीर न्यौपाने, सौरभ भट्टराई, शोभा थापा मगर र सुदीप कुमार ओलीको सक्रिय सहभागिता रहेको थियो। उनीहरूको समूहगत समन्वय र सहज प्रस्तुति शैली कार्यक्रमको सबल पक्षका रूपमा देखिएको सहभागीहरूको भनाइ छ।
यस प्रकारका शैक्षिक तथा स्वास्थ्य–केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय तह, शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रबीच सहकार्य विस्तार गर्न सके स्वस्थ, सचेत र जिम्मेवार पुस्ता निर्माणमा महत्वपूर्ण योगदान पुग्ने सरोकारवालाहरूले विश्वास व्यक्त गरेका छन्।









