गुल्मी रातामाटाको त्रिभुवन माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम



Live Gulmi


केशव गौतम, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१४ रातामाटामा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयमा शुक्रबार सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइने श्रीपञ्चमी पर्वको अवसरमा आयोजित कार्यक्रममा ६ जना नवआगन्तुक बालबालिकाले अक्षर लेखनको औपचारिक आरम्भ गरेका छन् । विद्यालय प्रशासनका अनुसार बालबालिकाहरूको शैक्षिक सत्र वैशाखबाट सुरु हुने भए पनि सरस्वती पूजाको दिनबाट अक्षर लेखन सुरु गराउँदा सिकाइ सहज हुने र देवी सरस्वतीको कृपाले नविन कार्यमा सफलता मिल्ने विश्वास रहँदै आएको छ ।

विद्यालयका प्रधानाध्यापक तिलकराम गौतमले सरस्वती पूजाको अवसरमा अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो । कार्यक्रममा साना बालबालिकाले सरस्वतीको आराधना, गायन तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाउँदै शिक्षा र संस्कृतिको महत्त्वलाई विद्यालयले गम्भीरतापूर्वक आत्मसात् गरेको सन्देश दिएको उहाँले बताउनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष कार्यक्रम अझ भव्य रूपमा आयोजना गरिएको र आगामी वर्षमा यसभन्दा उत्कृष्ट कार्यक्रम गर्ने योजना रहेको विद्यालयले जनाएको छ । कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण तथा समुदायसँगको समन्वयलाई थप सुदृढ बनाएको उल्लेख गरिएको छ ।

यसै अवसरमा त्रिभुवन माध्यमिक विद्यालयले निःशुल्क भर्नाको व्यवस्था गर्दै ६ जनाभन्दा बढी नयाँ विद्यार्थी भर्ना गरेको जनाएको छ । भावी पुस्तालाई शिक्षा र संस्कृतिमा अघि बढ्न प्रोत्साहित गर्ने लक्ष्य विद्यालयको रहेको सह–प्रधानाध्यापक दुर्गा प्रसाद गौतमले जानकारी दिनुभयो ।

( Jeevan rajan

विद्यालय परिसरमा सरस्वती पूजाका लागि मण्डप तयार पारिएको थियो । पण्डित रुद्रप्रसाद आचार्यले विधिपूर्वक पूजा सम्पन्न गराउँदै अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा नवआगन्तुक बालबालिकालाई अक्षर लेखनको सुरुवात गराइएको थियो । साथै टीका, शैक्षिक सामग्री, प्रसाद वितरण तथा भजन–कीर्तन कार्यक्रमसमेत गरिएको सह–प्रधानाध्यापक गौतमले बताउनुभयो ।

पहिलोपटक विद्यालय आएका बालबालिका पेन्सिल, कापी, प्रसाद तथा फलफूल प्राप्त गरी समूहमा भजन–कीर्तनमा सहभागी हुँदा निकै प्रफुल्ल देखिन्थे । हाल श्री त्रिभुवन माध्यमिक विद्यालयमा बालविकासदेखि कक्षा १० सम्म पठन–पाठन हुँदै आएको छ । विद्यालयमा हाल १ सय ६९ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
सरस्वती पूजाको अवसरमा त्रिभुवन माध्यमिक विद्यालयसँगै रेसुङ्गा नगरपालिका तथा देशभरका विभिन्न स्थानमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया