गुल्मी । छाेराकाे जन्मदिनमा पाण्डे परिवारद्वारा असहायलाई सहयोग गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला समितिका अध्यक्ष धुर्ब पाण्डेले आफ्नो जेठो छोरा हिमाल पाण्डेकाे जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै छत्रकोट गाउँपालिका-३ हर्दिनेटा स्थित एकल महिला लक्षिमा कुँवरलाई सहयोग गरेका हुन् ।
जन्मदिनको अवसरलाई तडकभडक र भोजभतेरभन्दा पनि समाजसेवामा रूपान्तरण गर्ने उद्देश्यले अध्यक्ष पाण्डेले उक्त समुदायलाई न्यानो सिरक, डसेना तथा खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो। सहयोग सामग्रीमा चामल, दाल, चिनी, बिस्कुट, चाउचाउ र साबुनलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरू समावेश थिए।
आर्थिक रूपमा कमजोर तथा विभिन्न समस्यामा परेका कुंबर समुदायका परिवारहरूलाई लक्षित गरी गरिएको यस सहयोगले उनीहरूको दैनिकीमा केही राहत मिल्ने विश्वास लिइएको छ। अध्यक्ष पाण्डेले व्यक्तिगत खुशी समाजसँग बाँड्दा त्यसको वास्तविक अर्थ रहने उल्लेख गर्दै यस्ता कार्यले समाजमा आपसी सहयोग, सद्भाव र मानवताको भावना विकास हुने धारणा व्यक्त गर्नुभयो।
सामाजिक सेवामा निरन्तर क्रियाशील रहँदै आएका अध्यक्ष पाण्डे रक्तदान अभियान, स्वास्थ्य सचेतना तथा विपन्न वर्गको सहयोगमा सक्रिय रहँदै आउनुभएको छ। उहाँको यस कार्यको स्थानीयवासी तथा समाजसेवीहरूले खुलेर प्रशंसा गरेका छन्।
उक्त सहयोग कार्यक्रमले जन्मदिन, विवाह, चाडपर्व जस्ता व्यक्तिगत अवसरहरूलाई समाजसेवामा रूपान्तरण गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ। यसले अन्य व्यक्तिहरूलाई पनि सामाजिक कार्यमा प्रेरित गर्ने अपेक्षा गरिएको छ। सहयोग पाएपछि खुसी हुँदै लक्षिमा कुँवरले सहयोगी भावना राख्ने पाण्डे परिवारलाई धन्यवाद व्यक्त गरिन् ।









