केशव गौतम, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१४ स्थित त्रिभुवन माध्यमिक विद्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी र शिक्षकहरूलाई सम्मान गरेको छ। विद्यालयले शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको मेहनतको कदर गर्दै प्रशंसा पत्र, खादा र टिका लगाई सम्मान गरेको हो।
एसईई २०८१ को परीक्षाफल अनुसार विद्यालयबाट १० जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ९ जना उत्तीर्ण भएका छन्। एक जनाले ‘ए’ ग्रेड, ४ जनाले ‘बी प्लस’, ४ जनाले ‘बी’ ग्रेड प्राप्त गरेका छन् भने बाँकी एक जना ग्रेड वृद्धिमा सहभागी भएको विद्यालयका प्रधानाध्यापक तिलकराम गौतमले जानकारी दिनुभयो। ९० प्रतिशत सफलता हासिल गरेपछि विद्यालय प्रशासनले विद्यार्थी, शिक्षक, अभिभावक सबैलाई धन्यवाद ज्ञापन गरेको छ।
वडाबाट विद्यालयलाई सम्मान
कार्यक्रममा वडा कार्यालयले विद्यालयलाई प्रशंसा पत्रसहित सम्मान गरेको छ। प्रमुख अतिथि वडा अध्यक्ष धनबहादुर पुनले त्रिभुवन मावि रेसुङ्गा नगरका १७ वटा माध्यमिक विद्यालयमध्ये उत्तीर्णताका आधारमा छैटौं स्थानमा पुगेको उल्लेख गर्दै यो उपलब्धिले सम्पूर्ण नगरपालिकालाई गौरवान्वित बनाएको बताए।
“यो सफलताले विद्यालय मात्र नभई नगरपालिकाकै शैक्षिक उन्नतिमा योगदान पुर्याएको छ,” उहाँले भन्नुभयो, “अब सतप्रतिशत नतिजा ल्याउनेतर्फ केन्द्रित हुन जरुरी छ।”
शतप्रतिशत नतिजा ल्याउने शिक्षक सम्मानित
एसईई परीक्षामा आफुले अध्यापन गराएका विषयमा शतप्रतिशत नतिजा ल्याउने शिक्षकहरूलाई विद्यालय तथा वडा कार्यालयको तर्फबाट सम्मान गरिएको छ।
सम्मानित शिक्षकहरूमा नेपाली विषयका सह–प्रधानाध्यापक दुर्गाप्रसाद गौतम, सामाजिक विषयका बिमल अर्याल, अर्थशास्त्रका मानबहादुर खत्री, शिक्षा तथा अंग्रेजी विषयका दीपक खवास रहेका छन्।
सांस्कृतिक प्रस्तुति र मन्तव्य
कार्यक्रममा वडाका सदस्य खेमराज रजाली, सरिता पन्थी, शिक्षक–अभिभावक संघ अध्यक्ष फर्शुराम कुँवर, छिमेकी विद्यालय थाक्सीपोखरा माविका प्रधानाध्यापक सूर्यबहादुर फुङ्गजेली लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा शिक्षक युवराज आचार्यसहित विद्यार्थीहरूले भजन–कीर्तन, असारे रोपाइँ गीत, नृत्यजस्ता साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रम शिक्षक रूद्रप्रसाद आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष यमबहादुर सोमको अध्यक्षता र सह–प्रधानाध्यापक दुर्गाप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।