विशाल अधिकारी, गुल्मी । परम्परागत संस्कृतिको संरक्षण गर्ने उदेश्यले विगतका बर्षहरुमा जस्तै यो वर्ष पनि गुल्मीको मालिका गाउँपालिका ६ अर्जैै पोखराबारीमा श्रीकृष्ण जन्माअष्टमीको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरिने भएको छ । कृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा यहीँ भाद्र ११ गते पोखराबारीमा कार्यक्रम गर्न लागिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
उक्त दिन श्री कृष्णको रथयात्रा,रोपाईँ जात्रा,खुल्ला तिजगीत प्रतियोगिता र अन्य विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिने भएको हो । वि.सं २०५३ सालबाट पोखराबारीमा स्थानीय भुमिश्वर गौतमको नेतृत्वमा यो कार्यक्रम गर्न थालिएको थियो । उक्त कार्यक्रमलाई अहिलेसम्म पनि निरन्तरता दिएको आयोजक समितिका सचिव भुमिश्वर गौतमले जानकारी दिनुभयो । “सुरुका केहीँ बर्ष व्यवस्थापन नुहँदा चुरोटको बट्टामा श्री कृष्ण भगवानको तस्विर राखेर पोखराबारी बजार परिक्रमा गराइन्थ्यो २०५९ सालमा भक्तजनको भेटीले श्री कृष्ण मन्दिरको स्थापना गरेपश्चात यसलाई व्यवस्थित बनाएर सञ्चालन गर्न थालियो उहाँले भन्नुभयो ।“ श्रीकृष्ण जन्माअष्टमीलाई निरन्तरता दिदैैँ गर्दा रोपाईँ जात्रा पनि मनाउनु पर्छ भन्ने लागेर २०५५ सालबाट जात्रा पनि मनाउन थालिएको गौतमले जानकारी दिनुभयो । “पछिल्लो समय रोपाईँ गर्दा गाउने भाकाहरु समेत लोप भएर जाँदै गर्दा यसले त्यो कुरालाई पनि बचाउन सक्छ भन्ने लागेर रोपाईँ जात्राको समेत सुरुवात गरेर मनाउन थालिएको उहाँले थप्नुभयो”। कृष्ण जन्माअष्टमीको दिन श्री कृष्ण मन्दिर बाट कृष्णको रथ निकाल्ने गरिन्छ र बजार परिक्रमा गराई पोखराबारीको चौरमा रहेको पिपलको बोटमा दिनभरि राख्ने गरिन्छ र साँझ पुन मन्दिर फर्काउने गरिन्छ ।
यो वर्ष पनि मन्दिर व्यवस्थापन समितिले विभिन्न कार्यक्रम गरेर जन्माअष्टमी पर्व धुमधामका साथ मनाउने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नारीहरुको महान पर्व हरितालिका तिजलाई समेत मध्यनजर गदै उक्त दिन खुल्ला तिजगीत प्रतियोगीता पनि आयोजना गरिएको साँस्कृतिक
कार्यक्रम संयोजक किसानचन्द्र गौतमले जानकारी दिनुभयो ।
उक्त प्रतियोगीतामा प्रथम हुने समुहलाई १५ हजार,द्धतीय हुने समुहलाई १० हजार,तृतीय हुने समुहलाई ६ हजार र सान्वना हुने समुलाई २ हजार ५ सय सहित प्रमाणपत्रले सम्मान गरिने साँस्कृतिक कार्यक्रम सञ्चालक वुद्धिसागर अर्यालले बताउनु भयो । पछिल्लो समयमा परम्परागत संस्कृति लोप हुँदै जानु दुःखद र चिन्ताको विषय रहेको भन्दैँ यसको संरक्षण गर्न सबै एकजुट भएर लाग्नुपर्ने स्थानीय सन्देश पराजुलीको भनाइ छ ।
गत बर्ष विविध कारणले गर्दा मेला आयोजन गर्न नसके पनि अबका बर्षहरुमा यसलाई निरन्तरता दिने आयोजक समितिको भनाइ छ । उक्त मेला हेर्नका लागि छापहिले, घमिर, इस्मा, अर्खवाङ्ग सँगै बाग्लुङ जिल्ला लगायत अन्य ठाउँबाट समेत मेला हेर्न आउने गर्छन् । यो बर्ष पनि करिब ५ हजार मानिसले मेला हेर्ने आयोजकको विश्वास छ ।