रेसुङ्गाकाे नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र पर्यटनमा आमूल परिवर्तन ल्याइने



Live Gulmi


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । शनिबार रेसुङ्गा नगरपालिकाकाे १५ औं नगरसभामा नगरपालिका प्रमुख खिलध्वज पन्थीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।                                                                           प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र पर्यटनमा आमूल परिवर्तन ल्याउने कार्यक्रमहरुले प्रवेश पाएका छन् । हाल गुल्मी अस्पतालमा नि:शुल्क हाडजोर्नीकाे बिशेषज्ञ सेवा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीकाे पहलमा संचालन भइरहेको छ । आगामी आर्थिक वर्षको लागि साेही कार्यक्रमलाई निरन्तरता दिने नगरप्रमुख पन्थीले सभामा बताएका थिए ।                                                                                उनलेे मृगौला डायलाइसिस सेवाकाे शुभारम्भ भएकोमा यसलाई दिगाे संचालनका लागि पहल, हाल ५० बेडकाे गुल्मी अस्पताललाई एक सय बेडमा लैजानकाे लागि थप पहल, सबै बिशेषज्ञ डाक्टरकाे दिने सेवाकाे शुभारम्भ र नि:शुल्क स्वास्थ्य बिमा लगायतका बिशेष कार्यक्रमले स्वास्थ्यमा प्राथमिकता पाएका छन् ।                                                                                नगरसभामा नगरपालिका प्रमुख पन्थीले हाल निर्माणाधीन गुल्मी अस्पतालकाे भवनलाई छिट्टै सम्पन्न गर्न पहल गर्ने बताए । उनले नगरवासीकाे नि:शुल्क आँखा अप्रेसन, गुल्मी अस्पताललाई सेवामैत्री र नागरिक मैत्री बनाउन आफूहरूले पहल गरिरहने नीति तथा कार्यक्रममै प्रस्तुत गरे ।                                                                              शिक्षा तर्फ रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले माध्यमिक शिक्षा परीक्षा एसइईमा जिल्ला प्रथम हुनेले अध्ययन गर्ने विद्यालयमा सहयाेग, प्रथम हुने विद्यार्थीलाई सहयाेग, सदरमुकाम बाहिरका विद्यालयमा पनि गुणस्तरीय शिक्षाको सुनिश्चितता, प्रविधिमैत्री शिक्षा, माध्यमिक तहसम्म नि:शुल्क शिक्षा र सीपाुलक शिक्षामा जाेड दिएको नीति कार्यक्रम प्रस्तुत गरे ।                                                                              पर्यटन तर्फ रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले धार्मिक, ऐतिहासिक र पवित्र तपाेभूमि रेसुङ्गाकाे प्रचारप्रसारका निम्ति जाउँ हिँड रेसुङ्गा कार्यक्रमलाई निरन्तरता, जाउँ हिड रेसुङ्गाकाे सन्देश कार्यक्रम नेपालको पर्यटकीय राजधानी पाेखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज,जनकपुर लगायतका स्थानमा कार्यक्रम गर्ने, रेसुङ्गा र भारतको अयाेध्या जाेड्न थप कार्यक्रम ल्याउने पनि नीति तथा कार्यक्रममा नगर प्रमुख पन्थीले बताए । उनलेे सित्तल छहारी रेसुङ्गामा चराकाे थप तस्बिर कैद र अध्ययन गर्न बिज्ञसँग छलफल, बिदेशी पर्यटक भित्र्याउने र रेसुङ्गा विमानस्थलमा हाल साप्ताहिक चार उडान भएकोमा अब दैनिक उडानका लागि पहल गर्ने नगर प्रमुख पन्थीले नीति तथा कार्यक्रममा प्रस्तुत गरे ।                                                                                यसकाे अलावा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले यश अघि भइरहेकामा महत्त्वपूर्ण कामको निरन्तरता, चिदिचाैर खेलमैदानकाे थप विकास, सडकमा सुधार लगायतका कार्यक्रम ल्याएको बताए । स्वास्थ्य, शिक्षा र पर्यटनमा आमूल परिवर्तनकाे अपेक्षा सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको रेसुङ्गा नगरपालिकाले विपद् व्यवस्थापनका लागि तालिम प्राप्त स्वयंसेवक वडामा खटाउने नीति ल्याएको छ । नगरपालिकाले वैकल्पिक शिक्षाको व्यवस्था, हरितगृह सहरको अवधारणा, तम्घास बजारलाई स्वच्छ तथा सफा राख्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ ।                                                                                    रेसुङ्गा नगरपालिकाले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जनताप्रति थप उत्तरदायी र जनताको सेवामा समर्पित हुने गरी विभिन्न कार्यक्रमहरु ल्याएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया