भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट पुर्ण खोप सुनिस्चितता तथा दिगोपन गाउँपालिका घोषणा भएको छ । पालिका भित्रका १६ देखि ५९ महिनाका १ हजार २१ जना बालबालिकाहरुले राष्ट्रिय खोप कार्यक्रम अनुसार १५ महिना भित्र पुरा गर्नुपर्ने सबै खोप पुरा गरेपछि आज एक कार्यक्रमका बिच यो घोषणा गरिएको हो ।
प्रत्येक वर्ष सम्पुर्ण प्रकृया पुरा गरि पुर्ण खोप सुनिस्चितता तथा दिगोपन घोषणा गर्दै आएको छत्रकोट गाउँपालिकाले यो वर्ष पनि निर्धारित समयमा नै घोषणा गर्न सफल भएकोमा कार्यक्रमका वक्ताहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर पुन, स्वास्थ्य कार्यालय गुल्मीका भेक्टोर कन्ट्रोल सुपरभाईजर श्रीकृष्ण भट्टराई, वडा अध्यक्षहरु, राजनितीक दलका प्रतिनिधि, पत्रकार, कर्मचारी लगायतको सहभागीता थियो । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेले पुर्णखोप सुनिस्चितता र दिगोपन घोषणाको संक्षिप्त विवरण पेश गर्दै यो अभियानमा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा स्तरिय स्वास्थ्य समितीलाई गाउँपालिकाले र गाउँपालिकालाई जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले पुर्ण खोप सुनिस्चितता तथा दिगोपन प्रमाण पत्र प्रदान गरेको गाउँपालिकाकी सिनियर अहेव सपना टण्डनले बताउनुभयो ।