गुल्मीका कुँवरले आफ्नै लगानीमा बनाए क्रिकेट मैदान, उद्घाटनसँगै लिजेन्ड्स कप सुरु



Live Gulmi


गुल्मी । गुल्मीका विनोद कुँवरले आफ्नै लगानीले रुपन्देहीमा क्रिकेट मैदान बनाएका छन् । रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको उक्त एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ । तिलोत्तमा नगरपालिका-१७ स्थित पूर्व दरखसवामा गत जेठ २९ गते शिलान्यास भएको रंगशालाको पहिलो चरणको कामअन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि आज सोमबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका छन् । गुल्मीबाट तिलोत्तमामा बसाइँ सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका विनोद कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गरेका छन् । उनी आफैं पनि आईटी इन्जिनियर हुन् ।

कन्सल्टेन्सी व्यवसाय समेत गरिरहेका विनोद कुँवर दम्पत्तिले रुपन्देहीको ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन सुरु गरेका हुन् । रंगशालाका अन्य पूर्वाधारहरु पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य छ । लगानीकर्ता विनोद कुँवरका अनुसार मैदान निर्माण गर्दा मात्र जग्गाबाहेक ७ करोड खर्च भएको छ । १८ करोडको लगातमा प्याराफिटको काम लगत्तै सुरू हुने उनले बताए । ‘रंगशालाका सबै पूर्वाधार ५ वर्षमा पूरा हुनेछ,हामीले यसलाई चरण-चरणमा बनाउँदै लग्नेछौं,’ कुँवरले भने, ‘पहिलो वर्षमा ५ हजार दर्शक अट्ने प्याराफिट बन्नेछ, क्रमशः बढाउँदै ५ वर्षमा २५ हजार क्षमतासहितको रंगशाला पूरा गर्ने योजना छ ।’

क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ब्रान्ड एम्बेसडर नेपालका चर्चित पूर्वक्रिकेटर शक्ति गौचन छन् । क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने र उक्त एकेडेमी र ट्रेनिङ सेन्टरको सम्पूर्ण जिम्मेवारी गौचनलाई नै दिएको कुँवरले बताए । उद्घाटनका अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न, खेलाडी उत्पादन गर्न सहज हुने बताए । पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आर्थिक राजधानीको रुपमा विकास भएको रुपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रंगशालाले रुपन्देहीमा लगानीमैत्री वातावरण छ भन्ने पुष्टि गरेको र यसले खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा राखे ।

bird conversation Add

पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट, कांग्रेस नेता एवं संघीय सांसद चन्द्र भण्डारी, सांसद बासुदेव घिमिरे, तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांण, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहलगायतले बोल्दै रंगशाला निर्माणले क्रिकेटको उर्बरभूमि रुपन्देहीलाई क्रिकेट खेलको माध्यमबट विश्वभर चिनाउन थप मद्दत पुगेको बताए ।

( Jeevan rajan

मैदान उद्घाटनका अवसरमा लिजेन्ड्स कप टी-१० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी-२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीले सहभागिता जनाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टिमकाे, एलबी क्षेत्रीले सन् १९९६ टिमको, कलाम अलीले रेस्ट अफ नेपालको र हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेर खेलेका छन् । समाचार अनलाइन खबरबाट साभार गरिएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया