माधव ज्ञवाली,गुल्मी । गुल्मीको रुरुक्षेत्र २ ग्वादिमा रहेको भरेक आधारभुत विद्यालयले प्रत्येक शुक्रबारको “बुक फ्री फ्राइडे” अभियानलाई निरन्तरता दिएको छ। यस शैक्षिक शत्रको बैशाखदेखि नै यस् विद्यालयले सो अभियान अन्तर्गत रहि विद्यार्थीहरुलाई विभिन्न परम्परागत एवं सिर्जनात्मक कार्यमा सहभागी गराउँदै आएको छ।
जस अन्तर्गत माघ २६ गते शुक्रबार विद्यालयले विद्यार्थीहरुलाई गुन्द्री बन्ने कार्यक्रममा सहभागी गराएको छ, विद्यार्थीहरुले पनि सक्रियता पुर्वक कार्यक्रममा सहभागी भई गुन्द्री बुन्न सिकेका छन् । गुन्द्री बुन्ने कार्यक्रममा स्थानीय शिवकला बरालले प्रशिक्षण दिनुभएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर मिदुनले बताउनुभयो ।
पछिल्लो समयमा गाउँघरमा गुन्द्री एवं चकटी बुन्ने परम्परा बिस्तारै हराउँदै गएकोप्रति दुख व्यक्त गर्दै परम्परा लोप नहोस् भन्ने उदेश्यले विद्यार्थीहरुलाई यसरी विद्यालयमै गुन्द्री बन्न सिकाइएको उहाँको भनाई रहेको छ।
विद्यालयले हरेक शुक्रबारको बुक फ्री फ्राइडे अभियानको लागि बार्षिक कार्यतालिका नै बनाई विभिन्न सिर्जनात्मक कार्यक्रम गर्दै आइरहेको छ।
यो भन्दा पहिले दाम्लो बाट्ने, डोरी बुन्ने, कुचो निर्माण, ढकिया निर्माण, सिन्की बनाउने लगायतका जीवनोपयोगी सिर्जनात्मक कार्यहरुमा विद्यार्थीहरुलाई सक्रिय सहभागी बनाइसकिएको र विद्यार्थीहरुले पनि त्यसलाई ब्यबहारमा उतारिरहेको विद्यालयले जनाएको छ।