टोपलाल अर्याल, गुल्मी । बिमारले बिस्तारा छोड्न मिल्दैन । उनको आशले त छोड्यो । तर, रोगले छोड्दैन । रोगले सुन्निएको शरिरमा नदुख्ने ठाउँ छैन । दुवै मृगौला फेल भएकी रेसुंगा नगपालिका–८ की ५८ बर्षीया पुतलीदेवि थापा बिस्तारै गल्दै र ढल्दै गएकी छन् । निरोगी हुँदा दुई घण्टाको बाटो हिडेर रेसुंगाको घाँसपात गरेकी थापालाई अचेल बिस्तारा छोडेर जमिन टेक्न मुस्किल परिरहेको छ ।
अनुहारमा कुनै आशा छैन् । किनकी जीवन रोगको पासा परिरहेको छ । ‘रोगले भोक छैन । पीडा शोक थप्यो,’पीडित थापाले भनिन,‘गरिबीले अस्पताल र आफन्त टाढा बनाउँदो रहेछ ।’ श्रीमान भिम बहादुर थापाले पनि केहि बर्षपहिले ज्यान गुमाए । पुतलीदेविलाई पनि मुटुको समस्याले छोयो । बुटवल पुगेर औषधीउपचार र फ्लोअप गर्थिन् । त्यतिकैमा दुवै मृगौला फेला भए । तर, आर्थिक अभावको कारण डेढ बर्षसम्म उपचारको लागि आगन छोड्न सनिनन् ।
छोरा भुवन थापाले लामो समय मृगौला फेल भएको बारेमा आफुलाई जानकारी नगराएका कारण समस्या धेरै बल्झिएको बताए । ज्यालामजदुरी गरिरहेका भुवनको पनि अहिले काम छैन् । उनले मजदुरी गरेर बिहान–साँझको हातमुख जोडने उपाय नभएकाले लाखौ रुपैयाँ जुटाएर अस्पताल पुराउन नसकिएको बताए । ‘मैले र बहिनीले केहि पैसा जोहो गरेर मुटुको उपचार गरिरहेका बेला मृगौलाको समस्या थपियो । खानेकी आमामो उपचार गर्ने निकै गाह्रो प¥यो,’उनले भने,‘अस्पतालले डाइलोसिस गर्न भनेपनि लैजान सकिएन ।’ सम्पतीको नाममा थापामगरको सडकले छोडेको सानो जग्गा र घर छ । सहयोगको लागि पीडित पुतलीदेविकी छोरी सुशिला थापाको साइन रेसुंगा विकास बैकको खाता नं ००८११८००३५९६७२०००००१ र ९८६७८३३९९३ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।
त्यस्तै रेसुंगा नगरपालिका ९ का ५३ बर्षीय नारायण सुनारको पनि दुवै मृर्गौला फेल भएका छन् । उनी दुई बर्षदेखि मृर्गाैलाको डाइलोसिस गरिरहेका छन् । गरिव परिवारलाई मृगौलाको समस्या पासो बनिरहेको छ । धेरै परिवारले उपचारमा लाखौ रकम खर्च गर्ने भएकाले अन्तिममा ज्यान र धन दुवै गुमाउने अवस्था आएको छ । सुनारले पक्कीघर बनाउन थालेका थिए ।
तर, शरिरमा मृगौलाको समस्या देखिएपछि त्यत्तिकै छोडेर उपचारमा लागेका छन् । आमा सिमा सुनारले ज्यानभन्दा ठुलो कुरा केहि नभएकाले घरको माया मारेर उपचारमा लाग्दा सम्पती सकिएको गुनासो गरिन् ।
देउसीभैलोबाट उठेको रकम सहयोग
हाम्रो रेसुङा सेवा समाजले देउसीभैलो खेलेर दुई उदाहरणीय काम गरेको छ । देउसीभैलो खेल्ले अधिकांशले संकलन भएको पैसा पिकनीक र मोजमस्तीमा सक्छन् ।
तर, गुल्मीको हाम्रो रेसुंगा सेवा समाजले देउसीभैलो खेलेको ४० हजार रकम रेनपा ८ र ९ का दुई मृगौला पीडितलाई प्रदान गरेको छ । सेवा समाजले बुधबार रेनपा ८ कि ५८ बर्षीया पुतलीदेवि थापा र बिहिवार रेनपा ९ का ५३ बर्षका नारायण सुनारलाई २०÷२० हजार प्रदान गरेको हो ।
रेनपा ८ का वडाअध्यक्ष निरन्जन थापाले मृगौला पीडित पुतलीदेबिलाई सहयोग हस्तान्तरण गर्दै रेसुङा सेवा समाजले मान्छेमा सामाजिक भावना हराउँदै गएका बेला गाउँमा भैलो खेलेर गाउँकै मृगौला पीडितलाई सहयोग गरेर निकै प्रसंशायोग्य काम गरेको बताए । थापा आर्थिक अभावको कारण डाइलोसिस समेत गर्न नसकेर घरमै थलिदै गएकी छन । त्यस्तै रेनपा ९ का दुबै मृगौला पीडित नारायण सुनारलाई निबर्तमान वडाअध्यक्ष नारन सुनारले सहयोग रकम हस्तान्तरण गर्दै पीडितको परिवारमा सेवा समाजले पुराएको योगदानको उच्च प्रसंशा गरे । पीडित सुनारले दुई बर्षदेखि मृगौला डाइलासिस गरिरहेका छन ।
हाम्रो रेसुङा सेवा समाजले महिला नेतृत्वसहित सामुदायिक कामको नमुना प्रस्तुत गरेको निबर्तमान वडाअध्यक्ष सुनारले बताए । सेवा समाजकी अध्यक्ष सरिश्मा नेपालीले लोककल्याणकारी काममा सहयोग पुराउने हिसाबले आफुहरु एकताबद्द भएर समाज मार्फत सामाजिक काममा लागेको बताइन । उनले देउसीभैलो खेलेपछी कला सस्कृतिको संरक्षणसंगै सामाजिक सहयोग हुने बताइन । सहयोग हस्तान्तरणमा जनप्रतिनिधि, समाजका पदाधिकारीसहित मिडियाकर्मीको उपस्थिति रहेको थियो ।