गुल्मीको इस्मामा अपांगता भत्ताको निरन्तरतासँगै वास्तविकताको पहिचान



Live Gulmi


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा अपांगता भत्ताको निरन्तरतासँगै वास्तविकताको पहिचान सुरु गरिएको छ । गाउँपालिकाले केही दिनअघि सबै वडामा एक दिनका दरले ६ दिनसम्म यस सम्बन्धी शिविर चलाएको थियो ।

शिविरमा अपांगता परिचयपत्र वितरण, वास्तविक अपांगताको पहिचान र उनीहरुको स्वास्थ्य उपचार पनि नि:शुल्क गरिएको थियो । यस क्रममा अपांगता नभएका ब्यक्तिले पनि त्यसअघि परिचयपत्र पाएको, वास्तविक अपांगताले वर्गअनुसार परिचयपत्र नपाएको र गरिबीको आधारमा अपांगता भनिएको लगायतका समस्याहरु भेटिएका थिए ।

Jeewan and Rajan Tailors

अपांगता परिचयपत्र वितरण तथा समन्वय समिति इस्मा गाउँपालिका संयाेजक गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरका अनुसार विज्ञ डाक्टर, राष्ट्रिय अपांगता महासंघ गुल्मी, आशा अपांग केन्द्र गुल्मी, पालिका स्तरीय राजनैतिक दल तथा सरोकारवाला, वडा स्तरीय प्रतिनिधि र पत्रकार समेतको उपस्थितिमा वास्तविक अपांगताको पहिचान गरिएको थियो । यस शिविरपछि गाउँपालिकाले (क) र (ख) वर्गको अपांगता भएर पनि (ग) वर्गको अपांगता भनिएकाहरुलाई अपांगताकाे प्रकृतिअनुरुप स्तरोन्नति गरेको छ । जसअनुसार उनीहरूले माथिल्लो तहको वास्तविक भत्ता पनि पाउन सुरु गरिसकेका छन् ।

The Star Family Restaurant

तर, गाउँपालिकाले अपांगता सामान्य भएर पनि जटिल प्रकृतिको भनेर परिचयपत्र पाउनेहरुकाे कटाैती भने गरिहालेकाे छैन् । यसअघि भइसकेको बेथितिलाई मध्यनजर गर्दै त्यस्ता प्रकृतिका अपांगताले सीपमूलक तथा आयआर्जनमुलक काम गर्न सक्ने भएकोले त्यहीअनुरूप कार्यक्रम अगाडि बढाउने गाउँपालिकाकाे तयारी छ । उनीहरूले पाउँदै आएको अपांगता भत्ता त्यो समयसम्म पाइरहने पनि गाउँपालिकाले जनाएको छ ।

राष्ट्रिय अपांगता महासंघ गुल्मीका प्रतिनिधि घनबहादुर खड्काले अपांगताकाे वास्तविक पहिचान गर्ने इस्मा गाउँपालिकाकाे प्रशंसा गरे । उनले यसअघि बेथिति भएकोमा गाउँपालिकाले सच्चाउने कदम अगाडि सारेको र जिल्लाभरनै यो हुनुपर्ने उनले बताए ।

इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले आफूहरू अपांगताको वास्तविक पहिचानमा लागेको बताए । उनले वास्तविक अपांगतालाई वास्तविक वर्ग अनुसार भत्ता प्रदान गर्ने र यसअघि पाइरहेको भत्ता पनि निरन्तरता चलिरहेको बताएका छन् । तर, उनले आगामी दिनमा भत्ता नपाउने प्रकृतिका अपांगतालाई सीपमूलक र आयआर्जनमूलक कार्यक्रममा जाेड्नुका साथै यसअघि अपांगताकाे क्षेत्रमा भएको बेथिति सच्चाउने बताएका हुन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया