गुल्मी । नेपाल एअरलाइन्सले गुल्मीमा उडानको तालिका परिवर्तन गरेको छ । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले गुल्मीमा उडानको तालिका परिवर्तन गरेको छ । निगमले यसअघि हप्तामा मङ्गलवार र शुक्रवार उडान गर्दै आएकोमा अबदेखि बुधवार र शुक्रवार उडान गर्ने जनाएको छ ।
रेसुङ्गा विमानस्थलबाट मङ्गलवारको दिन काठमाण्डौ आउजाउ गर्ने यात्रुको सङ्ख्यामा कमी आएपछि निगमले त्याे दिनकाे तालिकालाई हटाएर बुधवार सारेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयाे । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई बुधवार र शुक्रवार उडान गर्न अनुमति दिएकाे छ ।
यसअघि निगमले मङ्गलवार रेसुङ्गा विमानस्थलबाट एक जना यात्रु लिएर काठमाण्डौ गएको थियो । गुल्मीमा मङ्गलवारको दिन धेरै मानिस घरबाट लामो यात्रामा बाहिर ननिस्कने भएका कारण पनि स्थानीयको मनोभावनाअनुसार निगमले मङ्गलवारकाे ठाउँमा बुधवार सारेकाे हाे ।
निगमको १८ सिट क्षमताको जहाजले हप्ताकाे प्रत्येक बुधवार बिहान साढे ६ बजे काठमाण्डाैबाट रेसुङ्गा र बिहान साढे ७ बजे रेसुङ्गाबाट काठमाण्डाैका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ । निगमले काठमाण्डाैबाट रेसुङ्गाका लागि सात हजार दुई सय ८० र रेसुङ्गाबाट काठमाण्डाैका लागि सात हजार ८० रुपैयाँ भाडा निर्धारण गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणको एअर ट्राफिक कन्ट्रोलर अस्मिता बस्नेतले प्रतिकूल मौसमका कारण यसअघि उडान रद्द हुने गरेको भए पनि मौसममा सुधार आएको भन्दै अबदेखि उडान नियमित हुने बताउनुभयाे । गुल्मीमा धुले उडान भएको चार वर्षपछि मात्र व्यावसायिक उडान शुरु गरिएको थियो । रेसुङ्गा विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दुरीमा पर्दछ ।