गुल्मी । गुल्मीमा ३० हजार राशि बराबरको छात्रा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पुल्चोक स्पोर्ट्स क्लबको आयोजनामा असोज १० गतेदेखि १३ गतेसम्म आयोजना गरिएको चौथो पुलचोक कपको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा चौथो पुलचोक कपको शिल्ड अनावरण समेत गरिएको छ। रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृता कुँवरले शिल अनावरण गर्दै पत्रकार सम्मेलनको उद्घाटन गरिन।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कुँवरले पुलचोक क्लबले गरेको छात्राहरुको खेलबाट धेरै छात्राहरु अगाडि बढन सकेको बताइन।पुलचोक क्लबले छात्राहरुको खेल राखेर आजसम्म राम्रो अस्तित्व कायम गरेको समेत उपप्रमुख कुँवरले बताइन ।
पुल्चोक क्लबको प्रचार प्रसारको निम्ति मिडियाको तर्फबाट आफुहरुले सहयोग गर्ने नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले बताए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अर्यालले जिल्लाका सबै भेगका बिद्यार्थीलाई जोडन आग्रह गरे ।
प्रतियोगितामा कक्षा १० सम्ममा छात्रा सहभागी हुन पाउने क्लबका उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । सबैको साथ सहयोगले यहाँसम्म आइपुगेको उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।
क्लबले पाँचौ वार्षिकोत्सबकाे अवसरमा पुल्चोक कप आयोजना गर्दैछ । खेलमा ११ समूह सहभागी हुनेछन् । खेल चार दिनसम्म चल्नेछ । पुल्चोक कप २०८० जित्नेले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् त्यस्तै उपविजेताले २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका महासचिव प्रकाश मरासिनीले जानकारी दिए।
खेल फिपा नियम बाट खेलाइने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा रेफ्रीलाइ जर्सी र बल हस्तान्तरण गरिएको हो । विगतका बर्षमा भन्दा यो बर्ष अलि फरक ढङ्गले पुलचोक कप आयोजना गरिने आयोजकले जनाएको छ । पुलचोक कप जिल्लाको सबैभन्दा ठूलो र भव्य कप भएको आयोजकले बताएको छ ।
यस अगाडिका सबै पुलचोक कपको उपाधी सिद्धबाबा माध्यमिक बिधालय तम्घास गुल्मीले हात पारेको थियो । तेस्रो पुलचोक कपमा पालुखा माविलाइ ३-१ गोलले हराउदै सिद्धबाबाले ह्याटि्रक सहित उपाधी हासिल गरेको थियो ।