गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा विद्यार्थी अभाव भएपछि विद्यालयका तहहरू समायोजन गरिएको छ । विद्यार्थीको संख्या एकदमै कम हुने, शिक्षकको संख्या बढी हुने, आर्थिक भार बढ्दै जाने र विद्यालयको गुणस्तर घट्दै जाने लगायतका कारण विद्यालयका तह समायोजन गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर ६ अम्मरपुरमा रहेको गोविन्द रत्न कुँवर लोकतान्त्रिक आधारभूत विद्यालय हाल १७ लाखको आर्थिक भार, कक्षा ६ र ७ विद्यार्थीको संख्या क्रमश निकै कम र शिक्षकलाई तलव दिन नसकेपछि विद्यालय स्थलगत अध्ययन तथा अनुगमन कार्यादलले विद्यालय समायोजन गर्ने निर्णय गरेको हो ।
प्राथामिक तह कायम राख्दै कक्षा ६ र ७ लाई मात्र समायोजन गरिएको कार्यदलका संयोजक ढाल बहादुर कुँवरले जानकारी दिनुभयो । बढीमा २० मिटर मात्रको दुरीमा अम्मरपुर औमप्रसाद गौतम माध्यमिक विद्यालय रहेकोले पनि विद्यालय समायोजनले अभिभावक तथा विद्यार्थीलाई कुनै असर नगर्ने संयोजक कुँवरले बताउनुभयो ।
कक्षा ६ र ७ हटाइएको गोविन्द रत्न कुँवर लोकतान्त्रिक आधारभूत विद्यालयमा हाल ८ शिक्षक हुनुहुन्छ । २ प्राथामिक तह स्थायी, २ प्राथामिक तह राहात र चार निजी शिक्षक रहेको प्रधानाध्यापक टेकहरि पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार २ स्थायी र २ राहात शिक्षक रहेपनि प्रधानाध्यापक निजी शिक्षक हुनुहुन्छ । केहि समय अगाडि तत्कालीन प्रधानाध्यापक मृत्युपछि आफुले चलाउँदै आएको पराजुलीले स्वीकार गर्नुभयो । तत्कालिन प्रधानाध्यापक तिलक कुँवरले ३५ हजारका दरले तिन महिनाको तलब एक लाख ५ हजार पाउन बाँकी छ । तर, उहाँको तलब हालसम्म विद्यालयले दिएको छैन् । गत असोज ५ गते श्रीमान् तिलकको मृत्यु भएपछि उहाँकी श्रीमती शान्त कुँवरले आफुले बारम्बार विद्यालयसँग माग गरेपनि तलब नपाएको गुनासो गर्नुभयो । विद्यालयले बेरुजु आएको भन्दै तलब नदिएको बताउँछ ।
विद्यालयले निजी शिक्षकलाई डेढ वर्षदेखि तलब दिन नसकेको, हाल १७ लाख आर्थिक भार रहेको र यसअघिको शैक्षिक सत्रमा कक्षा ६ मा १० र कक्षा ७ मा १२ जना विद्यार्थी रहेको प्रधानाध्यापक टेकहरि पराजुलीले बताउनुभयो । उहाँले विद्यालय समायोजनको असर अभिाभवक र विद्यार्थीलाई पर्न नहुने बताउनुहुन्छ । यसो त यहाँ विद्यालय समायोजनले कसैलाई पनि असर गरेको देखिन्न ।
अंग्रेजी माध्यमा अध्ययन अध्यापक भएता पनि यहाँ यसको प्रभावकारीता भने कम देखिएको छ । नजिकै अर्को विद्यालय रहेकोले कक्षा ६ र ७ समायोजन गर्ने, प्राथामिक तहमा अध्ययन अध्यापक गुणस्तरीय बनाउने र आर्थिक भार कम गराउनको लागि समायोजनको निर्णय गरिएको इस्मा गाउँपालिका शिक्षा शाखा प्रमुख लाल बहादुर कुँवरले बताउनुभयो ।
इस्मा गाउँपालिका विद्यालय स्थलगत अध्ययन तथा अनुगमन कार्यादलका संयोजक ढाल बहादुर कुँवरले विद्यार्थीको अभावका कारण गाउँपालिकाका ७ वटा विद्यालयको तह समायोजन गरिएको बताउनुभयो । उहाँका अनुसार वडा नम्बर १ को बालकक्षा राख्ने गरि जुकेपानी आधारभूत विद्यालय, वडा नम्बर २ को नमुना आधारभूत विद्यालयको कक्षा ४ र ५ गरि दुई तह, वडा नम्बर ३ को दर्लामचौर आधारभूत विद्यालयमा कक्षा ३ सम्म चल्ने गरि समायोजन गरिएको छ ।
वडा नम्बर ४ को नेपाल राष्ट्रिय आवसीय आधारभूत विद्यालयमा बालकक्षा राख्ने गरि समायोजन गरिएको, वडा नम्बर ५ को भगवती आधारभूत विद्यालयमा बालकक्षा राख्ने गरि समायोजन गरिएको, वडा नम्बर ५ मा रहेको खड्क आधारभूत विद्यालयमा बालकक्षा राख्ने गरि समायोजन गरिएको र वडा नम्बर ६ मा रहेको गोविन्द रत्न कुँवर लोकतान्त्रिक आधारभूत विद्यालयमा समायोजन गरिएको हो ।
- सुमन महतारा