इस्माको बुल्ममा सामुदायिक स्वास्थ्य इकाई संचालन



Live Gulmi


गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्ममा बुल्म सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले उद्धाटन गरेसँगै स्वास्थ्य इकाई संचालनमा आएको हो ।

जनजाति समुदायको बाहुल्य रहेको अम्मरपुरको बुल्म क्षेत्रमा स्वास्थ्य संस्था नहुँदा बिरामीहरु उपचारको लागि टाढाटाढा जान बाध्य हुनुभएको थियो । जसअन्तर्गत गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य इकाईको स्थापना गर्ने उल्लेख गरेअनुरुप त्यसको कार्यान्वयन गरिएको हो ।

Jeewan and Rajan Tailors

बुल्मका स्थानीय धनपती नेपालीले स्वास्थ्य इकाईको स्थापनाले बुल्मवासीलाई निकै राहात हुने बताउनुभयो । उहाँले सामान्य बिरामी परेको समयमा पनि उपचार पाउन नसक्ने बुल्मवासीले अब समयमै उपचार पाउने अपेक्षा राख्नुभयो ।

The Star Family Restaurant

सोही ठाउँका गोपाल कुमाल पनि घरनजिकै स्वास्थ्य इकाई स्थापना भएकोमा खुसी हुनुहुन्छ । उहाँले डाक्टरहरु निरन्तर स्वास्थ्य संस्थामा भएपछि बिरामी हुँदा पनि ढुक्क भएर उपचार गर्न पाउने बताउनुभयो ।

बुल्मकै छविलाल कुमाल पनि जनजाति समुदायमा गाउँपालिकाले प्राथमिकताका साथ स्वास्थ्य इकाई स्थापना गर्नु सकारात्मक रहेको बताउनुभयो । जातिय आधारमा पछाडि परेकाहरुलाई स्वास्थ्यको पहुँचमा गाउँपालिकाले ल्याएको छविलालको भनाइ छ ।

अम्मपुरका वडाध्यक्ष ढाल बहादुर कुँवरले जनजातिको बाहुल्य रहेको बुल्म सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्य इकाई स्थापना गर्न सहजीकरण गरेको बताउनुभयो । उहाँले सबै नागरिकलाई सेवा लिन समेत आग्रह गर्नुभएको छ ।

जिल्ला समन्वय समिति गुल्मीका सदस्य सुनिता जिसीले नागरिकको मौलिक अधिकार अनुसार स्वास्थ्यको पहुँचमा ल्याउन गाउँपालिकाले गरेको कदम स्वागतयोग्य रहेको बताउनुभएको छ । उहाँले नागरिकलाई सेवा लिन आग्रह गर्नुभएको छ ।

गाउँपालिकाले एक अहेव, एक अनमि र एक कार्यालय सहयोगी सहित स्वास्थ्य इकाईको स्थापना गरेको छ । इकाईमा शुक्रबारबाटै सेवा शुभारम्भ गरिएको छ । सामुदायिक स्वास्थ्य इकाईको उद्धाटन गर्दै गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले नागरिकको स्वास्थ्यमा संवेदनशील रहेको भन्दै बुल्म क्षेत्रमा इकाईको स्थापना गरेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएकी उपाध्यक्ष कुँवरले गाउँपालिकाबाट वार्षिक नीति तथा कार्यक्रममा समेटेरै इकाईको स्थापना भएको बताउनुभएको छ । ‘हामी नागरिकको स्वास्थ्यमा संवेदनशील छौं’ उहाँले भन्नुभयो, “सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन इकाई संचालनमा ल्याएका छौं ।” स्वास्थ्य इकाई उद्धाटन कार्यक्रममा बुल्मवासीको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया