इस्मामा घुम्ती शिविरबाट एकैदिन तीन सयले लिए सेवा



Live Gulmi


सुमन महतारा । गुल्मीको इस्मा गाउँपालिकाले संचालन गरेको एकीकृत घुम्ती शिविरबाट एकैदिन २९३ जना नागरिकले सेवा लिएका छन् । गाउँपालिकाको वडा नम्बर १ को हर्पुकोटमा संचालित शिविरबाट नागरिकले सेवा लिएका हुन् ।

सहज र छरितो माध्यमबाट सेवा प्रवाह गर्ने हेतुका साथ गाउँपालिकाले वडा वडामा पुगेर जनतालाई सेवा दिनको लागि घुम्ती सेवा संचालन गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ६ वटै वडामा शिविर संचालन गर्दैछ । जसअन्तर्गत आज संचालन भएको शिविरमा नागरिकले सबैभन्दा बढि स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य सेवा लिनेमा एक सय ६० जनाको ब्लड प्रेसर चेकअफ गरिएको छ । एक सय ३० जनालाई औषधि वितरण र ३८ जनाको क्षयरोग परिक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले बताए । साथै ७९ जनाको सुगर चेकजाँच गरिएको छ ।

त्यस्तै गाउँपालिकाले उपलब्ध गराएको पशु सेवा तर्फ एक सय १६ घरधुरीका पशुपन्छीको उपचार गरिएको छ । ६३ घरका पशुपन्छी अन्तर्गत ६२ कुकुर र एक वटा बिरालोलाई रेबिज खोप लगाइएको छ ।

( Jeevan rajan

त्यस्तै कृषि शाखाले प्रदान गरेको सेवामा १८ नागरिक लिएको माटो परिक्षणका लागि नमुना संंकलन र परामर्श दिएको थियो । त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले ४० जना ज्येष्ठ नागरिकको परिचय पत्र वितरण र एउटा सामाजिक सुरक्षा भत्ताको लागि नयाँ दर्ता भएको हो ।

रोजगार शाखाले दुई वटा योजना सम्झौता र २७ जनालाई परिचयपत्र वितरण गरेको छ । योजना शाखाले एक वटा योजना सम्झौता पनि गरेको गाउँपालिका योजना शाखा प्रमुख नारायण महतले बताए ।

गाउँपालिकाले संचालन गरेको शिविर अन्तर्गत आज वडा नम्बर १ को वडा कार्यलय हर्पुकोटमा सम्पन्न भएको इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन् ।

उनले सेवाग्राहीको उत्साहजनक उपस्थितिले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताएकी छिन् । वडा तहमा बिहानदेखि साँझसम्म खटिएर सेवा प्रवाह गर्ने सबै कर्मचारीलाई उपाध्यक्ष कुँवरले धन्यवाद ब्यक्त गरेकी छिन् । उनले सेवा प्रवाहमा सहजताको लागि समन्वय गर्ने वडाध्यक्ष लगायतका जनप्रतिनिधिलाई पनि धन्यवाद दिइन् । शिविर सोमबार गाउँपालिकाको वडा नम्बर २ को पालुखा माध्यमिक बिद्यालयमा संचालन हुनेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया