गुल्मी । गरिमा विकास बैंक लिमिटेड, तम्घास शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत अर्जै माध्यमिक विद्यालयलाई एक थान कम्प्युटर तथा एक थान मल्टिकलर प्रिन्टर हस्तान्तरण गरेको छ।
वि.सं. २०१३ सालमा स्थापना भएको उक्त विद्यालय मालिका गाउँपालिका–६, पोखरानारी, गुल्मीमा अवस्थित छ। हाल विद्यालयमा २६ जना शिक्षकको सक्रिय सहभागितामा नर्सरीदेखि कक्षा १२ सम्म ३२८ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा दैनिक प्रशासनिक कार्य तथा शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन कम्प्युटर र प्रिन्टरको आवश्यकता रहेको अनुभूति भएपछि गरिमा विकास बैंक तम्घास शाखाले यो सहयोग गरेको हो। उक्त सामग्रीले विशेषगरी कक्षा ६ देखि १२ सम्मका विद्यार्थी तथा विद्यालयको प्रशासनिक कार्यमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सम्झना बिष्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम पन्थी, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम पन्थीको अध्यक्षतामा तथा गरिमा विकास बैंक लिमिटेड, तम्घास शाखाका शाखा प्रमुख विष्णु के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन गरिमा विकास बैंक, तम्घास शाखाका अपरेसन इन्चार्ज दिनेश बस्नेतले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै शाखा प्रमुख विष्णु के.सी.ले शिक्षा क्षेत्रमा गरिएको सहयोगले समाजको दीर्घकालीन विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि बैंकले सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक सम्झना बिष्टले गरिमा विकास बैंकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै प्राप्त कम्प्युटर तथा प्रिन्टरले विद्यालयको प्रशासनिक कार्यलाई सहज बनाउनुका साथै विद्यार्थीको प्रविधिमैत्री शिक्षामा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। साथै, उहाँले बैंकबाट प्राप्त सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा रहेको धारणा व्यक्त गर्नुभयो।
नेपाल राष्ट्र बैंकद्वारा “ख” वर्गको मान्यता प्राप्त बैंकका देशभरि १२६ वटा शाखा छन्। गुल्मी तम्घासको नयाँ बजार र शान्तिपुर गरी गुल्मी जिल्लामा दुई वटा शाखा छन्। गरिमा विकास बैंक राष्ट्रिय स्तरको बलियो बैंक हो, बेला-बखत विभिन्न विधाबाट सम्मानित हुँदै आएको छ।









