गुल्मी । जिल्लाकाे प्रमुख धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको छ। सदरमुकाम तम्घासको शिरमा अवस्थित रेसुङ्गा क्षेत्रमा हरेक वर्षझैँ यसवर्ष पनि मन्दिर व्यवस्थापन समिति र रेसुङ्गा संरक्षण समितिको समन्वयमा मेला आयोजना गरिएको हो।
रेसुङ्गा संरक्षण समितिका महासचिव यज्ञप्रसाद पन्थीका अनुसार मन्दिर परिसरमा साउनभर दैनिक पूजा, प्रवचन लगायतका धार्मिक कार्यक्रम सञ्चालन हुनेछन्। मेलामा गुल्मीका विभिन्न स्थानहरू सहित अर्घाखाँची, पाल्पा, वाग्लुङ, प्यूठान, रुपन्देही लगायत जिल्लाबाट श्रद्धालु भक्तजनको बाक्लो उपस्थित रहने गरेको छ।
साउने महिना विशेषगरी रेसुङ्गाको महापोखरीमा स्नान गर्ने धार्मिक परम्परा छ। पोखरीमा स्नान गर्दा भुलवश भएका पापहरू नष्ट हुने धार्मिक विश्वास रहिआएको छ। आज साउन १ गतेको अवसरमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको थियो। विशेषगरी साउन १ गते, साउने औँसी र एकादशीका दिनहरूमा मेला झनै विशेष हुने गर्दछ।
रेसुङ्गा क्षेत्र भौगोलिक, धार्मिक र पौराणिक दृष्टिले निकै महत्वपूर्ण छ। यहाँ रहेको भ्यू टावरबाट धवलागिरीदेखि मनास्लुसम्मको हिमश्रृंखला अवलोकन गर्न सकिन्छ। २,३४० मिटरको उचाइमा रहेको यो क्षेत्र शीतल हावापानी, मनोरम वातावरण र शान्तताले भरिपूर्ण छ।
पौराणिक मान्यताअनुसार द्वापरयुगदेखि त्रेतायुगसम्म रेसुङ्गालाई तपोभूमिका रूपमा लिइन्छ। श्रृंग ऋषिले अयोध्याका राजा दशरथका लागि यहीँबाट पुत्रेष्टि यज्ञ गराएका थिए भन्ने उल्लेख वेद–पुराणहरूमा पाइन्छ। यज्ञको प्रभावले राम, लक्ष्मण, भरत र शत्रुघ्नको जन्म भएको धार्मिक विश्वास छ। ऋषि श्रृंग, यदुकानन्द र रामचन्द्र जस्ता महापुरुषहरूको तपोस्थलीका रूपमा रेसुङ्गा चिनिन्छ।
रेसुङ्गा क्षेत्रमा हाल पूर्वाधार विकास, प्राचीन तथा धार्मिक सम्पदाको संरक्षण र प्रचारप्रसारको काम भइरहेको छ। विद्यार्थीहरूको शैक्षिक भ्रमण, होमस्टे सेवा र ग्रामीण पर्यटनको दृष्टिले पनि यहाँ सम्भावना उच्च रहेको पन्थीले बताए।
रेसुङ्गा क्षेत्रमा आकर्षक सिँढीमार्फत पैदल यात्रा सजिलो बनाइएको छ। यहाँका वन, मठमन्दिर, आश्रम, कुण्ड, पँधेरा, यज्ञशाला तथा भग्नावशेषहरू क्षेत्रको महत्व झल्काउने तत्व हुन्। जैविक विविधताका दृष्टिले पनि यो क्षेत्र समृद्ध छ—यहाँ २५८ प्रजातिका चराचुरुङ्गी, चितुवा, मृग, घोरल, खरायो लगायतका वन्यजन्तु पाइन्छन्।
अन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न रेसुङ्गा नगरपालिकाले यसवर्ष ‘जाउँ हिंड रेसुङ्गा’ अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत एक लाख पर्यटक रेसुङ्गा क्षेत्रमा भित्र्याउने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।