सामुदायिक रेडियो समाज रूपान्तरणको सशक्त माध्यम : मुख्यमन्त्री आचार्य



Live Gulmi


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक रेडियोलाई समाज रूपान्तरणको सशक्त माध्यमको रूपमा चित्रण गर्नुभएको छ । सामुदायिक रेडियो प्रशारण संघ लुम्बिनी प्रदेशका प्रतिनिधिहरूसँग भएको छलफलका क्रममा मुख्यमन्त्री आचार्यले आम सञ्चारका माध्यमहरूको सुदृढीकरणमा प्रदेश सरकारले विशेष ध्यान दिइरहेको बताउनुभयो ।

छलफलमा सहभागी संघका पदाधिकारीहरूले सामुदायिक रेडियोको सशक्तिकरणका लागि प्रदेश सरकारबाट आवश्यक सहयोगको माग गरेका थिए । संघका अध्यक्ष नविन के.सी.का अनुसार सामुदायिक रेडियोकर्मीहरूको क्षमता अभिवृद्धि तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम १२ वटै जिल्लामा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । साथै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चालित ‘समृद्धिका पाइला’ कार्यक्रमलाई ४८ अङ्कसम्म निरन्तर प्रसारण गर्न पर्याप्त बजेटको व्यवस्था हुनुपर्ने माग समेत गरिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश सभा सचिवालयले सञ्चालन गर्दै आएको ‘प्रदेश सभा सेरोफेरो’ कार्यक्रमलाई १२ वटै जिल्लाका एफएम रेडियोमार्फत प्रसारण गर्न मिल्ने गरी बजेटको व्यवस्थापन गरिनुपर्ने माग पनि संघले राखेको छ । संघले प्रदेश सरकार अन्तर्गतका कार्यालयहरूले सूचना तथा सञ्चार शीर्षकअन्तर्गतको बजेट स्थानीय एफएम रेडियोहरूमार्फत खर्च गर्नुपर्ने व्यवस्था गर्न आग्रह गरेको छ । साथै, सामुदायिक एफएम रेडियोहरूको उपकरण बीमा कार्यक्रम सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्ने माग समेत अघि सारिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया