फिनल्यान्डकाे स्थानीय निर्वाचनमा रेग्मी उम्मेदवार, नेपाली समाजको प्रतिनिधित्व गर्ने



Live Gulmi


फिनल्यान्ड । फिनल्यान्डको राजधानी हेलसिन्कीमा यही अप्रिल १३ तारिखका दिन हुन लागेको नगरपालिकाको निर्वाचनमा नेपाली मूलका उम्मेदवार कृष्ण रेग्मीले उम्मेदवारी दिनुभएको छ। उहाँ सोसिअल डेमोक्र्याटिक पार्टी (SDP) को तर्फबाट नगरपालिकाको सदस्य पदमा उठ्नुभएको हो। हेलसिन्कीमा स्थायी रूपमा बसोबास गरिरहेका नेपाली समुदायका लागि यो उम्मेदवारी एक ऐतिहासिक अवसरका रूपमा आएको छ ।

कृष्ण रेग्मी सन् २००८ मा वयस्क विद्यार्थीका रूपमा फिनल्यान्ड आउनुभयो। यहाँ आएपछि उहाँले शिक्षा, सूचना प्रविधि र समाज सेवामा सक्रिय भूमिका खेल्दै आउनुभएको छ। हाल उहाँ शिक्षक, आईटी विशेषज्ञ र दुई सन्तानका पिता हुनुहुन्छ। १६ वर्षदेखि फिनल्यान्डमा रहँदै आएका रेग्मीले फिनल्यान्डको सामाजिक संरचना, अवसर र चुनौतीहरू नजिकबाट अनुभव गर्नुभएको  छ ।

उहाँको भनाइमा, “फिनल्यान्डले मलाई शिक्षा, स्वास्थ्य र जीवन निर्माणका लागि जुन अवसर दियो, त्यही समान अवसर सबैलाई मिलोस् भन्ने मेरो चाहना हो। अब मैले पाएको योगदानलाई समाजमा फर्काउने बेला आएको छ।” उहाँ विश्वास गर्नुहुन्छ कि प्रत्येक मानिस, चाहे जुनसुकै पृष्ठभूमिबाट आएका हुन्, सबैले समान अवसर र पहुँच पाउनुपर्छ।

उहाँले प्रस्तुत गर्नुभएको चुनावी एजेन्डा व्यावहारिक र सामाजिक न्यायमा आधारित छ। जसमा सबैका लागि सुलभ र गुणस्तरीय आवास, शिक्षा र रोजगारका अवसर, प्रभावकारी स्वास्थ्य सेवा, ज्येष्ठ नागरिकको हेरचाह, साना व्यवसायको प्रवर्द्धन, र आप्रवासीहरूको समावेशीकरणजस्ता विषय प्राथमिकतामा रहेका छन्। यी विषयहरूमा उहाँको व्यक्तिगत अनुभव र व्यावसायिक दक्षता जोडिएको छ।

( Jeevan rajan

कृष्ण रेग्मीको उम्मेदवारी नेपाली समुदायका लागि मात्र होइन, समग्र आप्रवासी समुदायका लागि पनि प्रेरणादायक बन्न सक्छ। उहाँ भन्छन्, “हामी मेहनती छौं, जिम्मेवार छौं, अब हाम्रो प्रतिनिधित्व पनि हुनुपर्छ। म तपाईँहरूको आवाज बन्न तयार छु।”

मतदान प्रक्रिया पनि सहज छ। अग्रिम मतदान अप्रिल २ देखि ८ सम्म चल्छ र मुख्य मतदानको दिन अप्रिल १३ हो। फिनल्यान्डमा कम्तीमा दुई वर्ष स्थायी रूपमा बसोबास गरेका विदेशी नागरिकहरूले पनि मतदान गर्न पाउने व्यवस्था छ। त्यसैले, रेग्मीले नेपाली समुदायका सबै योग्य मतदाताहरूलाई मतदान गरेर आफ्नो अधिकार प्रयोग गर्न अनुरोध गर्नुभएको छ।

रेग्मीको उम्मेदवारीले नेपाली समाजभित्र उत्साह, गर्व र आशाको वातावरण सिर्जना गरेको छ। उहाँको जीवन यात्रा, सोच र समर्पणले अब नेपाली समुदायको आवाज नगरपालिकाको नीतिमा पनि सुन्न पाइने अपेक्षा गरिएको छ। उहाँ भन्नुहुन्छ, “हाम्रो भोटले हाम्रो भविष्य बनाउँछ। आउनुहोस्, परिवर्तनको पक्षमा उभिऔं, नेपाली समुदायको सम्मान र हितको प्रतिनिधित्व सशक्त बनाऔं।”

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया