गुल्मी । स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा अब्बल भएको । गुल्मी अस्पतालको भौतिक संरचना अभावका बिचमा पनि सेवा प्रवाहमा सुधार ल्याएको छ । आर्थिक वर्ष ०८१/०८२ सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ९१ प्रतिशत अंक ल्याएर गुल्मी अस्पताल अब्बल सावीत भएको हो ।
अस्पतालको न्यूनतम सेवा मापदण्डको बारेमा पृथ्वीचन्द्र अस्पताल नवलपरासी का मेडिकल सुपरिटेन्डेन्ट डा.नुरुल होडा सहितको टोलिले गुल्मी अस्पतालमा न्यूनतम सेवा मापदण्ड अनुगमन तथा मुल्याङकन गरेको थियो । अस्पतालको स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अनुगमन मुल्याङकन गर्दा विगतमा भन्दा थप उपलब्धी पाएको डक्टर होडाले बताए । गत वर्षको मूल्याङनमा पनि गुल्मी अस्पताल ९१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेशमा तेस्रो भएको थियो ।
तर, यशवर्ष ९१ प्रतिशत अंक ल्याएको छ । यसरी अस्पतालले सेवाप्रवाहलाई थप स्तरीय बनाउन तर्फ लागेको संकेत प्राप्त मुल्याङकनको नतिजाले उल्लेख गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुको सहभागितामा अस्पतालले न्यूनतम सेवा मापदण्ड मुल्याङकन सार्वजनिक तथा समिक्षा समेत गरेका थियो । मूल्याङकन नतिजा सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्री सारुले पछिल्लो समय गुल्मी अस्पतालले गरेको प्रगतीको प्रशंसा गरे ।
उनले यस अस्पतालको बन्दै गरेको भवन सम्पन्न सबैको चासो रहेको उल्ले गरे । अस्पतालले अंक ल्याउने कुरा भन्दा पनि सेवा प्रवाहलाई निरन्तर गुणस्तरीयतालाई ध्यान दिन जोड दिए । उनले ५५ बुँदे लक्ष्यका साथ सुसासन कायम गर्न स्वास्थ्य मन्त्रालय लागिपरेको बताए । लुम्बिनी प्रदेशसभा सदस्य तथा अस्पतालका संस्थापक अध्यक्ष डिल्लीराज भुसालले २०५१ सालदेखि अस्पतालको विकास क्षेत्रमा सहकार्य गर्दै आईरहेको बताए ।
उनले अस्पतालको भौतिक निर्माण गर्न निकै दुख गरेर बजेट विनियोजन गरेपनि निर्माण व्यवसायीले ढिलो काम गर्दा समस्या भएको बताए । भुसालले ग्रामिण क्षेत्रका पहाडी जिल्लाका अस्पतालहरुमा डाक्टर आउन नमान्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव व्यक्त गरे । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बासुदेव उपाध्यायले दुर्गम जिल्लाका अस्पतालमा जनशक्ति पुर्याउन समस्या रहेको बताए । उनले कार्यालयलाई पेपरलेश र क्यासलेश बनाउने विषयलाई ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले २ महिना भित्र अस्पताल निर्माण सक्न ताकेता गरिरहेको बताए । उनले योजना निर्माणसंगै नतिजामुखि कार्यसम्पादनको आवश्यकता भएको बताए । स्वास्थ्य निर्देशनालयका बरिष्ट जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्न सक्षम छ भन्ने भान भएको बताए । उनले अस्पतालकोथप विश्वसनियता बढाउन विकास समितिले सेवाको गुणस्तरीयतालाई प्रमुख रुपमा ध्यान दिएर योजना बनाउनुपर्ने बताए ।
गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट तथा कार्यालय प्रमुख विभव बस्यालले न्यूनतम सेवा मापदण्ड कार्यक्रमले आफुले दिने सेवामा के कमजोरी छ र कसरी समाधान गर्न सकिन्छ भन्ने जानकारी पाउँदा अस्पतालको सेवा प्रवाहमा सहज भएको बताए । यो उपलब्धी प्राप्त गर्न सबैको सहयोगबाट यश अवस्थामा आउन सफल भएको डा. बस्यालले बताए । अस्पतालको भौतिक संरचनाको अभावले गर्दा उत्कृष्ट सेवाप्रवाहमा समस्या रहेको बस्यालले बताए । उनले अब गुल्मी अस्पताललाई थप उचाईमा पुर्याउनका लागि मुख्य गरिभौतिक संरचनाको कमी रहेको बताए । निर्माणाधिन अस्पताल भवन छिटो हस्तान्तरण गर्न सके सेवा प्रवाहमा थप सहज हुने सहभागीको जोड छ ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, पत्रकारहरु, नागरिक समाज तथा सरोकारवालाहरुले अस्पतालको विकास र सेवा प्रवाहका विषयमा आआफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा अस्पतालको सेवा प्रवाहमा उत्कृष्ट काम गर्ने प्रसुति रोग बिशेषज्ञ डक्टर शोफिया भलामी सहित कर्मचारीहरुलाई सम्मान समेत गरिएको छ । गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल प्रसाद पाण्डेयले सबैको सुझाव ग्रहण गरेर अस्पताल विकास र गुणस्तरिय सेवा प्वाहका लागि कार्यान्वयन गर्ने बताए ।
उनले समग्र गुल्मी बासिन्दाहरुको लागि गुल्मी अस्पतालले प्राथमिकताका साथ योजना बनाएर काम गर्ने बताए । गुल्मी अस्पतालमा हाडजोर्नी, गाइनोलोजिष्ट, हेमो डायलाइसिस सेवा लगायतका बिशेष डक्टरहरु सहितका सेवा बिस्तार भएका छन् । अस्पतालको प्रत्येक वर्षमा न्यूनतम सेवा मापदण्ड सेवा मूल्याङकन गरिदै आएको गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्याले बताए । न्यूनतम सेवा मापदण्ड सेवा मूल्याङकन आधारमा अस्पताल कुन अवस्थामा छ भन्ने आधार तय हुने अर्यालको भनाइ छ ।
भौतिक संरचना अभावका बिचमा पनि अस्पताल अब्बल सावीत हुदै आएको छ । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ । अस्पतालले पुरानो भवनमा साघुँरो कोठाहरुबाट पनि बिशेषज्ञ सेवा भने दिँदै आएको छ । ०७१ सालमा ५० शैययामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् ।
आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि ५ तलाको नयाँ भवन बन्दैछ । गुल्मी अस्पतालमा अहिले प्रसुती र हाडजोर्नी बिशेषज्ञ सेवा बिस्तारले सयौं बिरामीहरुले सहजरुपमा सेवा लिन पाएका छन् । पहाडी जिल्लाहरुमा बिशेषज्ञ डक्टरहरु दरबन्दी भएपनि आउन नमान्ने भएकाले सेवाग्रहीले बिशेषज्ञ सेवा लिन समस्या पनि रहेको छ ।