गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिले तीन वटा विधेयक पारित गरेको छ । आइतबार बसेको नगरपालिकाको १६ औं नगरसभाको दोस्रो बैठकले तीनवटा विधेयक पास गरेको हो ।
रेसुङ्गा नगरपालिका पर्यटन विकास विधेयक २०८१, रेसुंगा नगरपालिका बजार व्यावस्थापन तथा अनुगमन विधेयक २०८१ र रेसुङ्गा नगरपालिकाको स्थानीय वन विधेयक २०८१ नगरसभामा सर्वसम्मत पास भएका हुन् । रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले प्रस्तुत प्रस्ताव निर्णयर्थ प्रस्तुत गरेका थिए । पुस ९ गते सम्पन्न पहिलो बैठकमा विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेले नगरसभामा यी तीनवटा विधेयक नगरसभामा प्रस्तुत गरेका थिए । रेसुङ्गा नगरपालिका बजार व्यावस्थापन तथा अनुगमन विधेयक २०८१ मा सभासदस्य यज्ञमूर्ती थापा श्रीसले नगरपालिका भित्र संचालन गरिने मेला, महोत्सवको आय अग्रिम नगरपालिकालाई दिनुपर्ने सुझाव दिएका थिए ।
उक्त विधेयक सुझाव सहित सर्वसम्मत पास भएको थियो । त्यस्तै नगरसभामा प्रस्तुत भएको रेसुङ्गा नगरपालिकाको स्थानीय वन विधेयक २०८१ मा नगर सभासदस्य कृष्णप्रसाद भण्डारीले रेसुङ्गा नगरपालिका तम्घास बजारको फोहोरमैला व्यावस्थापन गर्न डम्पिङ सानो भएको बताएका थिए । उनले बजारमा निजी तथा सार्वजनिक जग्गामा फोहोर फाल्ने भएकाले यहाँको वातावरण प्रदुषित भएकोमा त्यसको ध्यानकर्षण गराएका थिए । यो विधेयक पनि नगरसभामा सुझाव सहित पारित भएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरसभा सदस्य भण्डारीले नगरपालिका भित्रका वडामा वडाकार्यालय निर्माणका लागि जग्गा अभाव रहेकाले त्यसको व्यावस्थापनमा नगरले चासो दिनुपर्ने बताएका थिए । उनले नगरपालिकामा रहेका सार्वजनिक जग्गालाई नेपाल सरकारसँग समन्वय गरेर नगरको मातहतमा ल्याउनुपर्नेमा जोड दिएका हुन् । नगरसभामा आएका सुझावमा ध्यान केन्द्रित भएको बताउँदै नगरप्रमुख पन्थीले फोहोरमैला व्यावस्थापनमा नगरपालिकाले काम गरिरहेको बताए ।
बजेटको सुनिश्चित भएपछि फोहोरमैला र वडाकार्यालयको स्थायी रुपमा समस्या समाधान गर्ने,पन्थीले बताए । बजारमा फोहोरमैलामा देखिएको विकृतिलाई नियमन गर्न नगरलाग्ने उनले बताए । नगरप्रमुख प्रन्थीले अब छिट्टै केही वडा कार्यालय उद्वघाटनको तयारीमा रहेको बताए ।