गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिने भएको छ । आज कात्तिक २७ गते परेको हरिबोधनी एकादशीको अवरसमा दुई स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
रेसुङ्गाका कार्यवहाक नगरप्रमुख अृमतादेवी कुँवर र गुल्मीदरवार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेद्धारा हस्ताक्षरित सार्वजनिक सूचनामा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले विदा दिने निर्णय उल्लेख गरिएको छ । एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ ।
मेलालाई व्यवस्थीत रुपमा मनाउनको निम्ति गाउँ, नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगर क्षेत्रका संस्था, कार्यालयहरु, मातहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।
अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारको काम भइरहेको छ ।
रेसुङ्गामा दैनीक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ । रेसुङ्गमा पुजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देही, लगायतका नेपालका विभिन्न ठाउबाट श्रदालु भक्तजनहरु धार्मिक स्थलमा आउने गर्दछन् ।
पोखरीमा नुहाउँन तथा पुजा आज गर्न साउन भर भिडभाड लाग्ने गर्दछ । सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ ।
ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ ।
अयोध्याका राजा दशरथलाई सन्तान नभएपछि रेसुङ्गा धाममा तपश्वी श्रृङ्ग ऋषिलाई अयोध्या बोलाएर पुत्रेष्टि महायज्ञ गरेरमा सन्तान हुन्छन् भन्ने राजा दशरथका गुरु ऋषिहरुको सल्लाह अनुसार ऋष्यश्रृङ्गबाट पुत्रेष्टि महायज्ञ गराइएको कथा वेद पुराणहरुमा उल्लेख छ । यज्ञका प्रभावले दशरथका छोरा राम, लक्ष्मण, भरत र शत्रुधन जन्मेको त्रेता युगको कथा पुराणहरुमा उल्लेख छ ।
यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।
रेसुङ्गामा द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।
रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिन्छ । रेसुङ्गा शिखर उच्च क्षेत्र हुनाले यहाँको हावापानी शीतल छ ।