चौथाे नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला कार्तिक ३ र ४ गते हुने



Live Gulmi


सागर भण्डारी, गुल्मी । वामी विश्व सम्पर्क मञ्च अन्तर्गत रहेको नौमती सांस्कृतिक समितिको आयोजनामा प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको नौमती सांस्कृतिक महोत्सव तथा वामी मेलाको चौँथो संस्करण यही कार्तिक ३ र ४ गते हुने भएको छ ।

मुसिकोट नगरपालिकाको केन्द्र वडा नं ७ स्थित वामीटक्सार बजारमा उक्त कार्यक्रम गर्न लागिएको आयोजकले बुधबार होटल दरबार पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । समाजमा भित्रिँदो आधुनिक संस्कृतिसंगै हाम्रो सेरोफेरोमा रहेका मौलिक, कला संस्कृतीलाई जीवन्त राख्दै नयाँ पुस्तालाई समेत पुस्तानान्तरण गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको नौमती सांस्कृतिक समितिका वरिष्ठ सल्लाहकार राम बहादुर केसीले जानकारी दिनुभयो ।

Jeewan and Rajan Tailors

कार्यक्रममा नेपालको मौलिक लोक बाजा नौमती बाजाको प्रतिष्प्रधात्मक कार्यक्रमसंगै नौमती बाजामा नृत्य प्रतियोगीता, रेकर्ड डान्स प्रतियोगीता, शंखवादन प्रतियोगीता, लोक दोहोरी गायन प्रस्तुती, विभिन्न स्थानीय संस्कृती झल्किने झाँकी, महिला समुहको नौमती बाजा प्रस्तुती, विद्यार्थी समुहको बाजा प्रस्तुती लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती समेत रहने अध्यक्ष बैकुण्ठ रायमाझीले जानकारी दिनुभयो । नौमती बाजा पुस्तान्तरण नहुँदा दुलर्भ बन्दै गएको सन्दर्भमा संरक्षण र प्रवर्द्धनको लागि सम्पर्क मञ्चले सानो प्रयास गरिरहेको अध्यक्ष रायमाझीले बताउनुभयो ।

कार्यक्रममा स्थानीय उत्पादनहरुका स्टल, नेवारी खानाका परिकारहरुको स्टल, हराउँदै गएका लुठ्ठे र चर्खे पिङ समेत आकर्षणको रुपमा रहने पत्रकार सम्मेलनको क्रममा जानकारी गराईएको थियो । त्यस्तै सो अवसरमा गीतसंगीत तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउनुहुने अग्रज स्रष्टा तथा व्यक्तित्वहरुलाई सम्मान र विशिष्ट संरक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
कार्यक्रममा मालारानीको घाटु, पुराना गाउँको ठाडो भाका, मैदान ठुलाखर्कको संयुक्त भजन, बसेरीको सोरठी, पल्टारको हेम्फै नृत्य, बामी बजारको लाखे नाच लगायतका यस क्षेत्रका विभिन्न स्थानीय संस्कृतीहरु समेत प्रदर्शन हुनेछन् । कार्यक्रममा राष्ट्रिय कलाकारहरु अर्जुन सापकोटा, रामचन्द्र चन्द लगायतका कलाकारहरुको बजोड सांगीतिक प्रस्तुती रहनेछ ।

कार्यक्रम सम्पन्न गर्नका लागि मूल समितिको मातहतमा रहने गरी १३ वटा विभिन्न उपसमितिहरु समेत गठन गरिएको प्रवक्ता विवेक काफ्लेले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्न गर्न झण्डै १० देखि १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको र सम्पूणर् खर्च सहयोगीदाता तथा प्रायोजनबाट संकलन गरिने काफ्लेले बताउनुभयो ।

पत्रकार सम्मेलनमा अनुगमन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रकाश काफ्ले, वामी विश्व सम्पर्क मञ्चका का.वा अध्यक्ष डिलाराम खरेल, सचिव रामचन्द्र सापकोटा, सामुदायिक रेडियो पुष्पाञ्जलीका अध्यक्ष अर्जुन सापकोटा, विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । समितिका अध्यक्ष बैकुण्ठ रायमाझीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन प्रवक्ता विवेक काफ्लेले गर्नुभएको थियो ।

समितिले यसभन्दा अगाडी २०७१ सालमा पहिलो, २०७५ सालमा दोश्रो, वि.स. २०७९ सालमा तेश्रो महोत्सव सम्पन्न गरेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया