इस्मामा एकीकृत सेवामार्फत तीन हजार चार सय लाभान्वित



Live Gulmi


रेसुङ्गा । उमेरले ९१ वर्ष पुग्नुभएका इस्मा गाउँपालिका–२ का गम्भीरसिंह कुँवर घर छेउमै सेवा पाउँदा दङ्ग हुनुहुन्छ । विगत केही समयदेखि अस्वस्थ्य रहे पनि अस्पताल नजानुभएका उहाँ वडामा चलेको घुम्ती शिविरमा पुग्नुभयो । गाउँपालिकाले वडामा चलाएको शिविरमा उहाँले स्वास्थ्य जाँच गरेर औषधि लिनुभयो । “लामो समयदेखि बिरामी थिएँ, अस्पताल जान समस्या थियो”, उहाँ भन्नुहुन्छ, “घर छेउमै सबै सेवा पाउन पनि सम्भव रहेछ ।” उहाँ वडामा दैनिक यो सेवा हुन जरुरी रहेको बताउनुहुन्छ ।

सोही स्थानकै कमला खत्री कुकुरलाई रेविज विरुद्धको खोप लगाउने थाहा हुँदाहुँदै पनि अस्पताल पुग्न पाउनुभएको थिएन । पछिल्लो समय रेविजको त्रास बढिरहेकाले जिल्ला सदरमुकाम तम्घास जाने सोँच बनाउनुभएकी उहाँ वडामै सोही सेवा पाउँदा हर्षित हुनुहुन्छ ।

गाउँपालिकाले घुम्ती सेवामार्फत सेवा नदिएको भए आर्थिक समस्यामा आफूहरू यत्तिकै बस्नुपर्ने खत्रीले सुनाउनुभयो । “टाढा जान परेको भए पैसा चाहिन्थ्यो”, उहाँ भन्नुहुन्छ, “निःशुल्क त्यो पनि गाउँमै सेवा पाएको खुसी छु ।” यो सेवाका कारण राज्यको साथ आफूहरूमा भएको उहाँले महसुस गर्नुभयो ।

सोही स्थानकै बेदबहादुर कुमाल पनि गाउँकै पायकपर्ने ठाउँमा सेवा पाएकोमा हर्षित हुनुहुन्छ । उहाँले घुम्ती शिविरमा कुकुरलाई रेविजविरुद्धको खोप, माटो परीक्षण, एकल पुरुष परिचयपत्र र आफ्नो स्वास्थ्य जाँचसमेत गर्नुभयो । कुमालले घरमा परेका सबै समस्याको समाधान घुम्ती शिविरबाट एकैपटक पाउनुभएको बताउनुहुन्छ । “घर नजिकै पायक परेको ठाउँमा सेवा पाइयो”, उहाँ भन्नुहुन्छ, “स्थानीय सरकार भएको अनुभूति भयो ।” उहाँले यस्तो सेवा समयसमयमा गाउँमा आउनुपर्ने बताउनुहुन्छ ।

( Jeevan rajan

यी मात्र होइन, इस्मा गाउँपालिकाले वडामा पुगेर एकीकृत घुम्ती शिविरबाट सबै सेवा एकैपटक दिँदा नागरिक दङ्ग हुनुहुन्छ । गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवामार्फत ६ वटा वडाका तीन हजार चार सय ७६ जनाले विभिन्न सेवा लिनुभएको छ । जसमा योजना सम्झौता २८, योजनाको भुक्तानी ३०, माटो परीक्षणका लागि नमुना सङ्कलन तथा परामर्श सेवा एक सय ५०, रेविज विरुद्धको खोप तीन सय २६, पशुपक्षी औषधि वितरण तथा परामर्श आठ सय ६२, नयाँ व्यवसाय दर्ता तीन, व्यवसायको नवीकरण ३४, व्यवसाय नामसारी एक, ६० वर्ष माथिका ज्येष्ठ नागरिक परिचयपत्र वितरण दुई सय ९१, एकल पुरुष परिचयपत्र वितरण ४८, छनोट भएका बेराजगारलाई परिचयपत्र एक सय ६२, ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा दीर्घरोगीको स्वास्थ्यपरीक्षण तथा औषधि वितरण नौ सय १६, क्षयरोग परीक्षणका लागि नमुना सङ्कलन एक सय १६ र मधुमेह परीक्षण पाँच सय नौ गरी कूल तीन हजार चार सय ७६ सेवाग्राहीले सेवा लिनुभएको हो ।

गाउँपालिकाले गत आइतबारदेखि शुक्रबारसम्म प्रत्येक वडामा एक/एक दिन एकीकृत सेवा प्रदान गरेको हो । गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले नागरिकलाई वडा तहमै छिटोछरितो र सस्तो सेवा दिन घुम्ती सेवा सञ्चालन गरेको बताउनुभयो । उहाँले गाउँपालिकामा हुने सबै सेवामार्फत वडा तहमै प्रदान गरेको बताउनुभयो । “स्थानीय तह नागरिकको घरदैलोको सरकार हो” उहाँले भन्नुभयो, “एकीकृत सेवाले गाउँमा आम नागरिकलाई राहात दिलाइरहेको छ ।” गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममार्फत वडातहमै गाउँपालिकाको सेवा घुम्ती सेवामार्फत दिने निर्णय गरेको थियो । जसअन्तर्गत उक्त कार्यक्रम कार्यान्वयन भएको हो ।

  • रासस

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया