चन्द्रकोटमा सूक्ष्म स्वास्थ्य शिविर : पाँच सय ४४ जना लाभान्वित



Live Gulmi


गुल्मी । ग्रामीण बस्तीका नागरिकलाई बस्तीमै चिकित्सकीय परामर्शसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गुल्मीको चन्द्रकोट गाउँपालिकाले मेडिकल अधिकृतसहितको सूक्ष्म स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गाउँपालिकाले २०८३ असोज १५ देखि २४ गतेसम्म पालिकाका आठवटै वडाका विभिन्न बस्तीमा सञ्चालन गरेको शिविरबाट ५४४ जना नागरिक लाभान्वित भएका छन्।

भौगोलिक विकटता, स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने समय र आर्थिक कठिनाइका कारण ग्रामीण क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन चुनौती रहेको अवस्थामा गाउँपालिकाले बस्तीमै पुगेर सेवा दिने अभ्यास सुरु गरेको हो। शिविरमा मेडिकल अधिकृतसहितको स्वास्थ्य टोली परिचालन गरी चिकित्सकीय परामर्श तथा स्वास्थ्य परीक्षण, आयुर्वेद, प्रयोगशाला (ल्याब) र आँखाजाँचलगायतका सेवा प्रदान गरिएको थियो। साथै, सेवाग्राहीलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।

गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले नागरिकको स्वास्थ्य सुरक्षालाई स्थानीय सरकारको प्रमुख दायित्वका रूपमा लिँदै स्वास्थ्य सेवालाई स्वास्थ्य संस्थामा मात्र सीमित नराखी बस्ती र घरदैलोसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताए। स्वास्थ्य सेवाबाट कोही पनि नागरिक भौगोलिक वा आर्थिक कठिनाइका कारण वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले बस्तीस्तरमा सेवा विस्तार गर्ने प्रयास गरिएको उल्लेख गर्दै उनले यो सुरुवात भएको र हरेक तीन महिनामा यस्ता कार्यक्रम सञ्चालन गरी निरन्तरता दिइने बताए।

गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले दुर्गम बस्तीका नागरिक, ज्येष्ठ नागरिक तथा स्वास्थ्य संस्थासम्म सहज रूपमा पुग्न नसक्ने व्यक्तिलाई लक्षित गरी शिविर सञ्चालन गर्नु प्रभावकारी कदम भएको बताए। बस्तीमै स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्श उपलब्ध गराउँदा नागरिकलाई समयमै स्वास्थ्य समस्या पहिचान गर्न सहज हुने र स्वास्थ्य सेवामा सबैको समान पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने उनको भनाइ छ।

( Jeevan rajan

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसेले उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने कार्यक्रम सञ्चालन गर्नु स्थानीय सरकारको प्राथमिकता रहेको बताए। स्वास्थ्यकर्मी, आवश्यक औषधि र विभिन्न स्वास्थ्य सेवाबीचको समन्वयमा सञ्चालन गरिएको शिविरले सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन सहयोग पुर्‍याएको उनले बताए।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश चन्द्र शर्माका अनुसार शिविरमा मेडिकल अधिकृतसहितको टोलीबाट स्वास्थ्य परीक्षण तथा परामर्श, आयुर्वेद, प्रयोगशाला र आँखाजाँच सेवा प्रदान गर्नुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। एउटै स्थानबाट विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउँदा नागरिकलाई सहज भएको उनले बताए।

चन्द्रकोट आधारभूत अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. रोसनकुमार यादवले बस्तीमै पुगेर चिकित्सकीय सेवा उपलब्ध गराउँदा नियमित स्वास्थ्य परीक्षण गर्न नसकेका नागरिकले समेत स्वास्थ्य जाँच तथा परामर्श प्राप्त गर्ने अवसर पाएको बताए। स्वास्थ्य समस्याको समयमै पहिचान गरी आवश्यकताअनुसार उपचार तथा थप परीक्षण गराउनु महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले शिविरमा पहिचान भएका स्वास्थ्य समस्याको प्रकृतिअनुसार सेवाग्राहीलाई सम्बन्धित स्वास्थ्य संस्था वा अस्पतालमा थप उपचारका लागि जान परामर्शसमेत दिइएको जानकारी दिए।

गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले स्थानीय तहबाट उपलब्ध हुने स्वास्थ्य सेवा तथा कार्यक्रमबारे नागरिकलाई जानकारी गराउन प्रभावकारी सूचना प्रवाह र समन्वय आवश्यक रहेको बताए। बस्तीस्तरमा सञ्चालन हुने यस्ता शिविरले नागरिकलाई स्वास्थ्य सेवाप्रति सचेत बनाउनुका साथै स्थानीय सरकारबाट उपलब्ध सेवाबारे जानकारी प्राप्त गर्न सहयोग पुर्‍याउने उनको भनाइ छ।

गाउँपालिकाका अनुसार शिविरअन्तर्गत चन्द्रकोट गाउँपालिका–३ को हर्राचौर गैढुङ्गामा ५५, वडा नं. ४ को शान्तिपुर डाँडावनमा ४०, वडा नं. ५ को ग्वाघा मगरगाउँमा ७१, वडा नं. ७ को रुपाकोट बौसदीमा ६७, वडा नं. ८ को तुराङ कालिकागाउँमा १०२, वडा नं. २ को विशुखर्क धौलादीपमा ९५, वडा नं. १ को दिब्रुङ दहगाउँमा ८९ र वडा नं. ६ को हरेवा खादीकोटमा २५ जनाले सेवा लिएका छन्। आठवटै वडामा गरी कुल ५४४ जना लाभान्वित भएका हुन्।

गाउँपालिकाले सूक्ष्म स्वास्थ्य शिविरलाई एकपटकको कार्यक्रमका रूपमा मात्र सीमित नराखी हरेक तीन महिनामा सञ्चालन गर्ने योजना बनाएको छ। यसबाट ग्रामीण बस्तीका नागरिकको नियमित स्वास्थ्य परीक्षणमा पहुँच विस्तार हुनुका साथै समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन र आधारभूत स्वास्थ्य सेवामा रहेको भौगोलिक तथा आर्थिक दूरी घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय आवश्यकताका आधारमा स्वास्थ्य सेवालाई थप सहज, सुलभ र नागरिकमैत्री बनाउने गाउँपालिकाको यो पहललाई ग्रामीण स्वास्थ्य सेवा विस्तारको नयाँ अभ्यासका रूपमा हेरिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया