गुल्मी । धार्मिक, सांस्कृतिक तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सक्रिय जय जय कोटेश्वर समूहले आफ्नो बहुप्रतीक्षित भजन ‘जय जय कोटेश्वर–भाग ५ : मर्ने चोला’ सार्वजनिक गरेको छ।
योगिराज धिराज ब्रह्मलीन गुरु १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजको पवित्र स्मृतिमा सिर्जना गरिएको उक्त भजनले मानिसको जीवनको क्षणभङ्गुरता, आध्यात्मिक चेतना, धर्म, संस्कृति तथा मानवतामूलक भावलाई प्रस्तुत गरेको छ।
**‘मर्ने चोला’**ले मानिसको जीवन केही समयको यात्रा मात्रै भएको र धन, पद, प्रतिष्ठा तथा घमण्ड स्थायी नभएको सन्देश दिन्छ। अन्तिम यात्रामा धन, पद वा प्रतिष्ठा साथ नजाने भन्दै मानिसले जीवनमा अरूलाई दिएको माया, सम्मान, सद्भाव र राम्रो व्यवहार नै महत्वपूर्ण हुने भाव भजनमा समेटिएको छ।
आफन्त तथा आफ्नै दाजुभाइ, दिदीबहिनी र साथीभाइसँग स–साना कुरामा रिस, राग, मनमुटाव तथा अहंकार पालेर बस्नुको अर्थ नभएको सन्देशसमेत भजनले दिन्छ। माफी माग्ने, माफ गर्ने, प्रेम बाँड्ने र सम्बन्धलाई महत्व दिने भावलाई यसले आत्मसात् गरेको छ।
गुल्मीको मौन पुष्करणी स्नान महोत्सव, शृङ्गामा विशेष रूपमा छायाङ्कन गरिएको भजनमा धर्म, कला, संस्कृति र संगीतको सुन्दर संयोजन प्रस्तुत गरिएको छ। जय जय कोटेश्वर समूहले हरेक वर्ष एउटा नयाँ भजन एल्बम सार्वजनिक गर्दै आएकोमा ‘मर्ने चोला’ पाँचौँ भागका रूपमा सार्वजनिक गरिएको हो।
भजनको भाका किरण खरेलको रहेको छ भने शब्द भजनकार हेमनाथ खरालले लेखेका हुन्। वृद्धदेखि बालकसम्मको मन छुने रोइला प्रकृतिको मेलोडीमा तयार पारिएको भजनमा प्रसिद्ध संगीत संयोजक तथा गायक महेन्द्र भण्डारी र लोकप्रिय गायिका कमला पोखरेलले स्वर दिएका छन्।
त्यस्तै, छोटा पर्दामा आफ्नो अभिनयमार्फत परिचित कलाकारद्वय ध्रुव पौडेल र बिपना पन्तको जीवन्त अभिनयले भिडियोमा थप आकर्षण थपेको छ। भजनको नृत्य निर्देशन समीक्षा भट्टराईले गरेकी छन्।
भजनले मानिसले संसार छोड्दा कति कमायो भन्नेभन्दा पनि कति मन जित्यो, कति माया दियो र कस्तो व्यवहार गर्यो भन्ने कुरा महत्वपूर्ण हुने सन्देश दिएको छ। जीवन छोटो र सम्बन्ध अमूल्य भएकाले रिस, राग र अहंकारभन्दा प्रेम, सद्भाव र मानवतालाई प्राथमिकता दिनुपर्ने भाव यसमा प्रस्तुत गरिएको छ।
धार्मिक आस्था, मौलिक संस्कृति, कला, संगीत, अभिनय र आध्यात्मिक भावनालाई एउटै प्रस्तुतिमा समेटिएको यस सिर्जनाले नेपाली मौलिक संस्कृति, धार्मिक आस्था तथा धार्मिक पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने निर्माण पक्षको विश्वास छ।
जय जय कोटेश्वर समूहले भजन हेरेर, सुनेर तथा शेयर गरेर साथ दिन सम्पूर्ण दर्शक–श्रोतामा आग्रह गरेको छ। साथै, सिर्जनालाई अझ उत्कृष्ट बनाउन दर्शक–श्रोताबाट प्राप्त हुने सुझाव, सल्लाह तथा रचनात्मक प्रतिक्रियालाई आत्मीयताका साथ ग्रहण गर्ने जनाएको छ।
भिडियो : https://youtu.be/fCrZsOB_OXw?si=3egudk8Y5C0YgDxF









