गुल्मी । छत्रकोट गाउँपालिकास्थित श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र स्तरवृद्धि हुँदै पाँच शय्याको छत्रकोट आधारभूत अस्पताल बनेको छ । १५ शय्याको पालिका अस्पताल संरचनामा जग्गा प्राप्ति तथा झन्झटिलो प्रक्रियासहितको ढिलाइका कारण त्यसअगावै पालिकाले सुरुवाती चरणमा पाँच शय्याको अस्पतालमा स्तरवृद्धि गरि सेवा प्रारम्भ गरेको हो ।
पाँच शय्याको आधारभूत अस्पतालबाट २४ घण्टा आकस्मिक सेवा, ओपिडी, प्रसूति सेवा, ल्याब, एक्स–रे, इसिजी, खोप, दन्त सेवा र फार्मेसीसहितका आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछन्। आधारभूत सेवा प्रदान गर्न सक्षम भएका कारण श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र अब छत्रकोट आधारभूत अस्पताल बनेको अस्पतालका प्रमुख डाक्टर मेडिकल अधिकृत नारायण न्यौपानेले बताए ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले पालिकाको आधारभूत अस्पतालका रूपमा थप प्रभावकारी सेवा अस्पतालबाट प्रदान हुने बताए । उनले अब अस्पतालले २४ घण्टा नै सेवा प्रदान हुने बताए । अस्पतालमा मेडिकल अधिकृत दुई, हेल्थ असिस्टेन्ट तीन जना, अहेव चार जना, अनमी तीन जना, ल्याब असिस्टेन्ट तीन जना, स्टाफ नर्स एक जना र कार्यालय सहयोगी चार जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले बताए ।
आधारभूत तहका सबै स्वास्थ्य सेवा उपलब्ध गराउने, थप गुणस्तरीय र थप परिष्कृत बनाउने, अझ स्वास्थ्य सेवा प्रभावकारी बनाउने स्रोत साधनको उपलब्धता, जनशक्ति व्यवस्थापन र उपकरण लगायतको व्यवस्था गर्न स्थानीय सरकारले प्रदेश र संघ सरकारसँग समन्वय गर्ने प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए ।
गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले पालिका जनताको स्वास्थ्य प्रति संवेदनशील रहेको बताउँदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गरेकी थिइन् ।
गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले स्थानीय तहमा पालिका अस्पताल बनाउने कार्यक्रम अन्तर्गत झन्झटिलो प्रक्रियाका कारण ढिलाइ भएको बताए । “हामीले पालिका अस्पताल प्रारम्भमै बनाएर सेवा प्रदान गर्ने सोंचमा थियौं,” उनले भने, “धेरै समस्याले पालिकाको संरचना सुरुवात गर्न सकेनौं, त्यसैले प्राथमिक स्वास्थ्य केन्द्र स्तरवृद्धि गरेर पालिका अस्पताल बनाउन सफल भएका छौं ।” उनले पालिका अस्पताल निर्माणको प्रक्रिया नरोकिने पनि बताए । सेवा प्रारम्भसँगै अब थप गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह हुने बताए ।










