गुल्मी । लुम्बिनी प्रदेशको दाङ घोराही भलिबल कोर्टमा फेरि एकपटक गुल्मीको एकछत्र राज चलेको छ। शनिबार दाङको घोराहीमा सम्पन्न दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा साविक विजेता गुल्मीले आफ्नो साख जोगाउँदै लगातार दोस्रो पटक स्वर्ण उपाधि कब्जा जितेको हो ।
एकतर्फी फाइनल: नवलपरासी निरिह
नवलपरासी विरुद्धको फाइनल भिडन्त गुल्मीका लागि खासै कठिन रहेन। निकै आक्रामक लयमा देखिएको गुल्मीले नवलपरासीलाई ३–० को सोझो सेटमा पन्छाउँदै उपाधि सुरक्षित गर्यो। खेलको नतिजा यस्तो रह्यो । पहिलो सेट: २५-१५, दोस्रो सेट: २५-१३र तेस्रो सेट: २५-१५ मा गुल्मीले जित्यो । नवलपरासीले कुनै पनि सेटमा गुल्मीलाई कडा चुनौती दिन सकेन र उपविजेतामै चित्त बुझाउन बाध्य भयो।
उपाधि जितेसँगै गुल्मीले नगद १ लाख रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरेको छ। दोस्रो भएको नवलपरासीले६५ हजार रुपैयाँमा चित्त बुझाएको छ।
यस्तै, लुम्बिनीका १२ जिल्ला सहभागी यस प्रतिस्पर्धामा रुपन्देहीले तेस्रो स्थान हासिल गर्दै ३५ हजार रुपैयाँ हात पार्यो भने प्यूठानलाई चौथो स्थानमा रोक्दै सान्त्वना स्वरूप १५ हजार रुपैयाँ प्रदान गरियो।
भलिबलमा लगातार दोस्रो पटक उपाधि जितेपछि जिल्ला भलिबल संघ गुल्मीले यो उपाधि सबै गुल्मेलीलाई समर्पण गरेको संघका महासचिव नारायण प्रसाद आचार्यले बताए । उनले गतवर्ष र यसवर्ष भलिबल उपाधि जितेकोमा सबै खेलाडीलाई धन्यवाद दिए । उनले लुम्बिनी प्रदेशमा गुल्मीले पुरुष भलिबलबाट निकै राम्रो प्रभाव पार्न सकेको बताए ।









