गुल्मी । गुल्मीकाे कालीगण्डकी नदी किनारमा मानव कंकाल फेला परेको छ । घाेप्टाे परेको अवस्थामा रहेको कंकालकाे पहिचान भने हुन सकेको छैन् ।
कालीगण्डकी गाउँपालिका-४ मा पर्ने कालीगण्डकी नदीकाे किनार घुमाउनेमा ढुङ्गाकाे बीच भाग ओडार जस्तै रहेको स्थानमा कंकाल स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पानीको बहाव बढ्दा पानी आउने भागमा रहेको ढुंगाकाे कपेराेमा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नाय उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
कंकाल रहेको ठाउँमा चप्पल पनि छन् । नदीले बगाएर ल्याएका अन्य सामग्री पनि छरपस्ट देखिन्छन् ।
मानव कंकालकाे पहिचान खुल्न सकेको छैन् । उक्त मानव कंकालको पहिचान खुलाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए ।









