गुल्मी । वर्षभरि नेवार समुदायमा दिवङ्गत भएकाहरूको घर–घरबाट मृत आत्माको चिर शान्तिको कामना गर्दै सम्झना स्वरूप गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । त्यस अनुरुप गुल्मीमा पनि गाई जात्रा पर्व मनाइएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा पनि यो वर्ष भरि दिवंगत भएका २ जना व्यक्तिहरुको सम्झनामा गाईजात्रा निकालिएको थियो । परम्परागत रुपमा निकालिएको गाईजात्रा तम्घास बजार परिक्रमण गराईएको थियो । जिल्ला सदरमुकाम तम्घासमा ८० घर भन्दा बढि नेवार समुदाय बसोवार गर्दै आएको भिन्तुना बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद श्रेष्ठले बताए । तम्घासमा भिमसेन मन्दिर व्यवस्थापन समितिले परापूर्व कालदेखि गाईजात्रा पर्व मनाउदै आएको श्रेष्ठले बताए ।
जिल्ला सदरमुका तम्घाससँगै रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर–१ रिड, वडानम्बर–५ टाहटिम, वाडनम्बर–४ को वलेटक्सार, मुसिकोट नगरपालिकाको वामिटक्सार, सत्यवती गाउँपालिकाको खैरेनी, गुल्मीदबारको चारपाला लगायतका स्थानमा नेवार समुदायका नागरिकको बसोवास गर्र्दै आएका छन् । यी ठाउँमा पनि गाईजात्रा मेला भव्य रुपमा मनाईएको मनाउने गर्दछन् ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले गाईजात्रा पर्वको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको थियो ।
राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युपछि भाव विह्वल भएकि रानीलाई मनाउन यस प्रकारको जात्रा निकाल्ने प्रचलन सुरु गरेको किंवदन्ती छ । बाजा र डोकेसँगै लठ्ठी ठटाउँदै, धोती र नेवारी संस्कृति झल्की भेषभुषाहरुमा सिँगारिएर नाच्ने गर्छन ।