गुल्मी । गुल्मी जिल्लाको रिडी रुद्रावेनी वामीटक्सार सडकका विभिन्न स्थानमा पक्की पुल नागरिकले सास्ती खेप्दै आएका छन् । रिडी देखि वामिटक्सार सम्मको सडक अन्तर्गत चार स्थामा पक्की नहुदा वर्षातको समयमा सवारी साधनहरुले सास्ती खेप्दै आएका हुन् ।
सडक सुचारु भएको वषौं बित्दा समेत विभिन्न खोलामा पुल नहुदा खोला तर्ने क्रममा सवारीसाधनहरु बगाउने समेत गरेको छ । सवारी साधनको अत्यन्तै चाप रहेको उक्त सडकमा पक्की पुल र सडकको अवस्था अत्यन्तै दयनिय रहेको छ । पुल नहुदा वर्षातको समयमा बिरामी तथा जेष्ठ नागरिकले यात्रामा अत्यन्तै दुखः भोग्नु पर्ने अवस्था रहेको छ । वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुटने सावरी साधनहरु वर्षातको समयमा खोला बढदा बाटोमै घन्टौं कुरेर यात्रा गर्नुपर्ने अवस्था रहेको मुसिकोट नगरपालिका वडानम्बर–३ का स्थानीय युवा व्यवसायी बसन्त अधिकारीले बताउनुभयो ।
खोला तर्न नसक्दा बाटौमै बिरामी तथा जेष्ठ नागरिकहरुले अत्यन्तै दुखः झेल्नु परेको अधिकारीको भनाइ छ । अहिले वर्षातको समयमा पानी नआएको खोला नबढेको अवस्थामा मात्रै यात्रा गर्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
२२ करोडको लागतमा चार पक्की पुल बन्दै
वषौंदेखि सास्ती खेप्दै आएका नागरिकको समस्यालाई मध्य नजर गर्दै चार वटा स्थानमा पक्की पुल बन्ने भएका छन् । सडक डिभिजन कार्यालय पाल्पा मार्फत सत्यवती गाउँपालिकाको नादेवा खोला पुलशाहाघाट, सत्यवतीकै, डहरे खोला पुल, सत्यवती र चन्द्रकोट गाउँपालिकाको भार्से खोला पुल चोरकाटेमा बन्ने भएको हो ।
त्यस्तै चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको गिद्दि खोला पुल तल्लाफाँटमा बन्ने भएको सडक डिभिजन कार्यालय पाल्पामा सूचना अधिकारी इन्जिनियर दुर्गाप्रसाद गौतमले बताउनुभयो । नादेवा खोला पुल शाहाघाटमा २० मिटर लम्बाई, डहरे खोला पुल ४० मिटर लम्बाईको पुल बन्ने भएको हो । त्यस्तै भार्से खोला पुल चोरकाटेमा ४० मिटर लम्बाई र गिद्दि खोला पुल तल्लाफाँटमा २० मिटरको निर्माण हुने इन्जिनियर गौतमले बताउनुभयो । २०८१ साल वैशाख १४ गते सम्झौता भइ २०८२ साल साउन २२ गते सम्पन्न गर्ने मिति रहेको छ । पुलको हालसम्म कुनै पनि काम शुरु भएको छैन् ।
चारवटा पुलको २२ करोड ३१ लाख ६० हजार २१० रुपैयाको लागतमा इलाइट कन्सट्रक्सन काठमाडौंले निर्माण गर्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । पुलको सम्झौता भएर डिजाईन स्वीकृत लगत्तै मनसुन सुरु भएको र वर्षातको समय पश्चात् निर्माण कार्य सुरु अगाडी बढने इन्जिनियर गौतमको भनाइ छ ।
पक्की पुल नहुदा डहरे खोलामा अत्यन्तै जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था रहेको मुसिकोट नगरपालिका वडानम्बर–४ भुवाचिदीका समाजसेवी ज्ञानहरी सापकोटाले बताए । पुल नबन्दा उल्लिखोला दहरे (लेदे खोला) ले दिनहु गाडीहरु जाम हुने गरेको सापकोटाले बताउनुभयो ।
धेरै यात्रुहरुले सास्ती भोग्नु पर्ने बाध्यता दिनहु हुने गरेको उहाँको भनाइ छ । पुल निर्माणका लागि पक्रिया अगाडी बढेकाले तोकिएकै मितिमा काम सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने सापकोटाको भनाइ छ ।
रिडी रुद्रावेनी वामिटक्सार सडक हुँदै गुल्मी र छिमेकी जिल्ला बाग्लुङसम्म पुग्ने सवारी साधनहरु आउ–जाउ गर्ने गर्दछन् । यो सडक गुल्मी जिल्लाको निकै पुरानो सडक हो ।