गुल्मी । गुल्मीमा अलैचीका १० हजार बिरुवा परीक्षणका लागि रोपण गर्न लागिएको छ । जिल्लामा अलैची खेतीको संभावना भएपनि ब्यवसायीक रुपमा खेती नभएकाले पहिलो पटक परीक्षणका लागि बिरुवा रोपण गर्न लागिएको हो ।
कृषि ज्ञान केन्द्र गुल्मीले पहिलो पटक जिल्लामा परीक्षणका लागि अलैची विकास केन्द्रबाट १० हजार बिरुवा ल्याइ परीक्षणका लागि रोपण गर्न लागिएको छ । अलैची बिकास केन्द्र इलामबाट गुणस्तरीय बिरुवा ल्याएकाले परीक्षण सफल भएमा ब्यवसायीक रुपमा नै खेती गर्ने गरी कार्यालयले योजना बनाउने भएको छ ।
अलैचीलाई कालो सुन भन्ने सुनेकाले कार्यालयमा बिरुवा माग गरेको कृषकहरुको भनाइ छ । अलैंचीको जात र जग्गाको उचाई अनुसार फल पाक्ने समयमा भिन्नता पाइन्छ । कम उचाईमा खेती गरिने जातहरू श्रावणको अन्तिमदेखि असोज पहिलो हप्तासम्म, मध्य उचाइमा खेती गरिने जातहरू आश्विन महिना र अलैंची हुनसक्ने बढी उचाइमा लगाइने जातहरू कार्तिक महिनाको मध्यसम्म फल पाकी टिपाई गरिन्छ ।
हाललाई मालिका र चन्द्रकोटलाई लक्षित गरी बिरुवा वितरण गरी रोपण गर्ने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । यस खेतीका लागि चिस्यान भएको जमिन आवश्यक पर्ने कार्यालयले जनाएको छ ।।नेपालमा नगदेबालीको रुपमा यसको खेती पहाडी जिल्लाहरूमा गरिएको पाइन्छ । नेपालबाट यो भारतको अलावा पाकिस्तान र अरबी मुलुकहरूमा निर्यात हुन्छ ।
विदेशमा निकासी गरेर विदेशी मुद्रा कमाउन सकेता पनि खासै अलैंची किसानहरू बढी लाभान्वित हुन सकेका छैनन् । यसको मुख्य कारण अलैंची व्यापारमा बिचौलियाहरूको मनोमानी हुनु हो ।
नेपालमा अलैंची खेती गरिएता पनि यसको खपत नगन्य मात्रामा छ । कूल उत्पादनको ९०% भन्दा बढी विदेशमा निर्यात हुन्छ ।