गुल्मी । शुक्रबार साँझ दाङबाट बुटवल फर्किँदै गरेका रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी सवार गाडीमा बुटवल तामनगरमा मुसिकोट नगरपालिका–१ नका रन्जित खत्रीको मोटरसाइकल ठोक्किँदा गम्भीर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई मेयर पन्थीको पहलमा हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
दुर्घटनापछि मेयर पन्थी स्वयं गाडीबाट ओर्लिएर खत्रीको उद्धारमा खटिएका थिए। तत्कालै खत्रीलाई नजिकै रहेको स्थानीय अस्पतालमा पुर्याइएको थियो। अस्पतालका चिकित्सकले तत्काल काठमाडौं पुराउन पनि समस्या हुने र स्थानीय तहमै उपचार सम्भव हुने बताएका थिए। तर, परिवारको आग्रहपछि मेयर पन्थीले समन्वय गर्दै थप उपचारका लागि खत्रीलाई काठमाडौंस्थित टिचिङ अस्पतालमा रेफर गराएका हुन्।
खत्रीलाई मंगलबार दिउँसो साढे २ बजे हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो। “दुर्घटनाको अवस्था दुःखद थियो। यथासम्भव तत्काल उद्धार र उपचारमा जुटियो,” मेयर पन्थीले भने, “परिवारको अनुरोधअनुसार थप सुरक्षित उपचारका लागि उहाँलाई काठमाडौं पठाउन सहयोग गरेका छाैँ ।” खत्रीको टिचिङ अस्पतालमा उपचार हुनेछ ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी घाइते खत्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनी दुर्घटनापछि खत्रीको परिवारसँगै अस्पतालमै खटिएर निगरानी गरिरहेका थिए ।