गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत मेधावी विद्यार्थीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार दिने भएको छ। अब कक्षा ८, १० र १२ मा ४ जिपिए (GPA) हासिल गर्ने विद्यार्थीलाई गाउँपालिकाले प्रत्येकलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिनेछ।
गाउँपालिकाको सोमबार आर्थिक बर्ष ०८२/०८३ काे सम्पन्न बजेट अधिवेशनमा उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले यो योजना प्रस्तुत गरेकी हुन्। “सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद एक लाख दिने व्यवस्था बजेटमा गरिएको छ,” उनले भनिन्।
इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट निर्माण गरिएको स्पष्ट पारे। “शिक्षा बिना समृद्धि सम्भव छैन। सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई समान अवसर दिन र उनीहरूको क्षमताको कदर गर्न यो योजना ल्याइएको हो,” अध्यक्ष खड्काले भने।
गाउँपालिकाको यो निर्णयले ग्रामीण भेगका विद्यार्थीमा अध्ययनप्रतिको रुचि बढाउने र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।









