गुल्मी । किशोरीहरूले महिनावारीको समयमा भोग्नुपर्ने सामाजिक, मानसिक र शारीरिक चुनौतीबारे जनचेतना फैलाउने उद्देश्यले गुल्मीमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। ‘महिनावारी हुँदा किशोरीहरूलाई चुनौती’ भन्ने शीर्षकमा आयोजित उक्त प्रतियोगिता स्वास्थ्य कार्यालय गुल्मी र रेसुङ्गा नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
विश्व महिनावारी दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा रेसुङ्गा नगर क्षेत्रका ११ वटा माध्यमिक विद्यालयका किशोरी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी कृष्ण पन्थीका अनुसार, सहभागी वक्ताहरूले महिनावारीलाई समाजले अझै पनि खुलेर स्वीकार नगरेको, यसबारे बोल्न लाज मानिने र त्यसले किशोरीहरूलाई अनेकौं समस्यामा पार्ने यथार्थ उजागर गरेका थिए।
वक्ताहरूले महिनावारीलाई प्राकृतिक प्रक्रिया भनेर समाजले स्वीकार्नुपर्नेमा जोड दिएका थिए। साथै विद्यालयमा किशोरी मैत्री शौचालय, आवश्यक सामग्रीहरूको सहज उपलब्धता तथा अभिभावक र शिक्षकबीच खुला संवादको आवश्यकताबारे पनि सुझाव दिएका थिए। केही वक्ताहरूले महिनावारी सम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममै समावेश गर्नुपर्ने माग समेत राखेका थिए।
स्वास्थ्य कार्यालय गुल्मीकी प्रमुख पुष्पा थापाले यस्ता कार्यक्रमहरूले किशोरीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै समाजमा चेतना फैलाउन सघाउने बताइन्। महिनावारीजस्ता संवेदनशील विषयमा सकारात्मक सोच विकास गर्नु आजको आवश्यकता भएको उनको भनाइ थियो।
प्रतियोगितामा उत्कृष्ट तीन वक्ताहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो। जसअनुसार, सिद्धबाबा माविकी करिश्मा वैदावार प्रथम, भाडगाउँ माविकी सुस्मिता केसी द्वितीय र जनसहयोग माविकी विनिता सोमै तृतीय भएका थिए। विजयी विद्यार्थीहरूलाई रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली र स्वास्थ्य कार्यालय गुल्मीकी प्रमुख पुष्पा थापाले पुरस्कार प्रदान गरेका हुन् ।