इस्मा ‘पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका’ घाेषणा



सुमन महतारा


गुल्मी । इस्मा गाउँपालिका अब ‘पूर्ण संस्थागत प्रस्तुति सेवायुक्त पालिका’ का रूपमा औपचारिक रूपमा घोषणा भएको छ । यो घोषणासँगै पालिकामा अब कुनै पनि महिला घरमै सुत्केरी गराउने अवस्थाको अन्त्य भएको छ।

पछिल्लो एक वर्षको अवधिमा पालिकाका कुनै पनि वडामा घरमै सुत्केरी भएका छैनन् । सबै महिलाहरू वर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामै गई सुरक्षित रूपमा सुत्केरी भएका छन् । यिनै तथ्यांकका आधारमा इस्मा गाउँपालिकाले यो महत्वपूर्ण उपाधि प्राप्त गरेको हो ।

घोषणासम्बन्धी विशेष कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पालिकालाई औपचारिक रुपमा पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरे । उनले भने, “इस्मा गाउँपालिकाले पछिल्लो समय स्वास्थ्य सेवा सुदृढीकरणमा गरेका कामहरू अत्यन्तै प्रेरणादायी छन् । सुरक्षित मातृत्व सेवा, यस सम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, स्वास्थ्यकर्मीहरूको प्रतिबद्धता र जनसहभागिताले यो उपलब्धि सम्भव भएको हो । यस्ता अभ्यास अरू पालिकाका लागि पनि अनुकरणीय बन्न सक्छन् ।”

गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले स्वास्थ्य क्षेत्र स्थानीय सरकारका प्रमुख प्राथमिकता बनाइएको उल्लेख गरे ।  उनले भने, “हामीले सबै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकीहरू स्थापना गरेका छौँ, दक्ष जनशक्ति परिचालन गरेका छौँ र निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ । यसले गर्दा महिलाहरू स्वास्थ्य संस्थामै गई सुरक्षित रूपमा सुत्केरी गरिरहेका छन् ।”

( Jeevan rajan

उनका अनुसार, कार्यक्रममार्फत गर्भवती महिला, सुत्केरी महिला, किशोरी र बालबालिकालाई लक्षित सेवा प्रदान गरिँदै आएको छ, जसले दीर्घकालीन रूपमा समग्र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ।

कार्यक्रममा उपाध्यक्ष तथा अधिवक्ता पार्वती कुँवरले महिलाको स्वास्थ्य र सुरक्षित मातृत्वलाई पालिकाको समग्र विकासको केन्द्रबिन्दु बनाइएको बताइन् । “महिलाहरूमा स्वास्थ्य संस्थामै गई सेवा लिने संस्कार विकास भएको छ, जुन अत्यन्तै सकारात्मक परिवर्तन हो,” उनले भनिन् । उनले थप भनिन्, “महिला सशक्तीकरण केवल भाषणको विषय होइन, सेवा र सुरक्षाको प्रत्याभूति दिन सकिएमा मात्र सम्भव हुन्छ । हामीले मातृत्व सुरक्षा र स्वास्थ्य पहुँच सुनिश्चित गरेर महिला अधिकारको संरक्षणमा ठोस कदम चालेका छौँ ।”

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला समूहका प्रतिनिधि, संघ–संस्था तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साथै पालिका पूर्ण खाेप सुनिश्चित गाउँपालिका घाेषणा पनि भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया