बुटवल । बुटवल अस्पताल प्रा.लि.मा पहिलोपटक एकैपटक दुवै घुँडाको सफल प्रत्यारोपण गरिएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन डा. उत्सव रेग्मी नेतृत्वको टिमले घुँडामा रहेको बिग्रिएको जोर्नीलाई अमेरिकन कम्पनीद्वारा निर्मित कृत्रिम जोर्नी प्रयोग गरी सफल शल्यक्रिया सम्पन्न गरेको हो।
गुल्मीको दरबार गाउँपालिका स्थायी घर भई हाल बुटवलको बेलबासमा बसोबास गर्दै आएकी ५३ वर्षीया पूर्णकला सोमै लामो समयदेखि अस्टिओआर्थराइटिस (घुँडाको जोर्नी खिइने रोग) बाट पीडित थिइन्। अत्यधिक पीडाका कारण उनी हिँडडुल गर्नसमेत असमर्थ थिइन्।
बुटवल अस्पतालमा यस्तो अत्याधुनिक शल्यक्रिया हुने जानकारी पाएपछि उनले उपचारका लागि त्यहीं जाने निर्णय गरेकी थिइन्। शल्यक्रिया सफल भएपछि पाँचौं दिनमै उनी सहाराको मद्दतमा हिँडडुल गर्न थालेकी छन्।
उनका श्रीमान् भुवनसिंह सोमैले भने, “शल्यक्रियाको केही दिनमै सामान्य रूपमा हिँडडुल गर्न थालेकी छन्, जुन हाम्रो परिवारका लागि आश्चर्यजनक अनुभव हो।”.स्वयं पूर्णकलाले पनि भनिन्, “पहिले म जीवनभर यसैगरी बस्नुपर्ला जस्तो लाग्थ्यो। अब लाग्छ, मैले दोस्रो जीवन पाएकी छु।”
यो शल्यक्रिया डा। रेग्मीसँगै अस्पतालमा कार्यरत हाडजोर्नी रोग विशेषज्ञ डा। समिर उल्लाह, डा. दिपेन्द्र यादव, र एनेस्थेसियाविज्ञ डा। प्रल्हाद अधिकारीको टिमले सम्पन्न गरेको हो । डा. रेग्मीले राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबाट जोर्नीसम्बन्धी विशेष तालिम (फेलोसिप) प्राप्त गरेका छन्।
डा. रेग्मीका अनुसार, दुवै घुँडाको एकैपटक प्रत्यारोपण पहिलोपटक भएकाले काठमाडौंका चिकित्सकहरूको समेत सहयोग लिइएको थियो। भविष्यमा यस्ता शल्यक्रियाका लागि अस्पतालकै टिम सक्षम बनाइने योजना रहेको उनले जानकारी दिए।
बुटवल अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलका अनुसार, कृत्रिम जोर्नी महँगो भए पनि काठमाडौंको तुलनामा सुलभ दरमा बुटवलमै प्रत्यारोपण गरिँदै आएको छ। सरकारले सहयोग गरेमा यस्ता रोगबाट पीडित बिरामीका लागि यो सेवा वरदान सावित हुन सक्छ।
उनले थपे, “यस खालको अत्याधुनिक सेवा अब बुटवलमै उपलब्ध भएकोले उपचारका लागि बिरामीहरूलाई काठमाडौं वा भारत धाउनु नपर्ने अवस्था सिर्जना भएको छ।”