गुल्मीमा १८ वटा एम्बुलेन्स प्रयोग विहीन



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लामा बिरामी बोक्ने १८ वटा एम्बुलेन्स प्रयोग बिहिन भएका छन् । जिल्लामा रहेका कुल ५६ वटा एम्बुलेन्सहरु मध्ये ३८ वटा एम्बुलेन्सहरु मात्र सञ्चलनमा रहेको संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका अध्यक्ष मोहन केसीले बताए ।

बाँकी १८ वटा एम्बुलेन्सहरु यसै थलिएर बसेको उनको भनाइ छ । जिल्लामा विभिन्न संघ संस्थाहरुबाट सञ्चालनमा रहेका एम्बुलेन्सहरु आर्थिक अभावका कारण मर्मत गर्न नसकी यत्तिकै रहेको उनले बताए । नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले एम्बुलेन्स ल्याउनेमा मात्र प्रतिस्पर्धा हुने गरेको टिप्पणी गरे  । एम्बुलेन्स ल्याउनेमा मात्र प्रतिस्पर्धा हुने गरेको बताउँदै दिगो रुपमा सञ्चालन गर्नका लागि कसैको ध्यान नपुग्ने गरेको उनको तर्क छ ।

जसका लागि स्थानीय सरकार र सरोकारवालाहरुले बेलैमा ध्यान दिनुपर्नेमा पाण्डेले जोड दिए । एम्बुलेन्स प्रयोगविहीन हुने संख्या बढदै गएको छ । एम्बुलेन्स खरिद र बिक्री सम्बन्धी उचित नीति नहुँदा गुल्मीमा धेरै एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न संघ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका छन् ।

गुल्मी जिल्लामा पुराना एम्बुलेन्स बिक्रीसम्बन्धी उचित नीति नहुँदा धेरै संघ संस्थाका एम्बुलेन्सहरु यत्तिकै थन्कीएका छन् । जिल्लका विभिन्न संस्थाहरुमा रहेका पुराना एम्बुलेन्सको अहिलेसम्म कुनै पनि मर्मत र व्यवस्थापन भएको छैन । जसले गर्दा पुराना एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न संघ संस्थाहरुले एम्बुलेन्स खरिद गरेर नयाँ छन् जेल चलाउने र पुराना बन्दै गएपछि मर्मत गर्ने खर्चको अभावमा प्रयोगविहिन अवस्थामा रहेका छन् । पहाडी क्षेत्रमा भौगोलिक कठिनाइ र जिल्ला दररेटले गर्दा पनि एम्बुलेन्स सञ्चालनका लागि समस्या बढदै गएको छ ।

( Jeevan rajan

जिल्लामा एम्बुलेन्स ल्याउने होड बाजी हुने तर पुरानो हुँदै गएपछि बिग्रीने मर्मत गर्न समस्या हुन गर्नाले ठूलो चुनौती बन्दै गएको छ । अहिले एम्बुलेन्स सञ्चालनको लागि नयाँ मापदण्ड पनि लागु भएको छ । जिल्ला रहेका पुराना एम्बुलेन्सहरु ग र घ श्रेणीका रहेका छन् । अहिले नयाँ ल्याउने क र ख श्रेणीका एम्बुलेन्स आएका छन् ।

त्यसले पनि पुराना एम्बुलेन्सहरु विस्थापित हुँदै गएका छन् । पुराना एम्बुलेन्सहरु श्रेणी स्तर बृद्धि गर्न पनि समस्या रहेको छ । एम्बुलेन्स लिलाममा बिक्री गर्दा पनि झन्झटिलो प्रक्रिया र उचित नीतिको अभावका कारण बिक्रीमा समस्या छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया